
काठमाडौं, चैत ४ । विश्वभर नै फैलिएको कोरोना (कोभिड १९) का कारण विश्व अर्थतन्त्र नै प्रभावित बनिरहेको छ ।
नेपालमा पनि पर्यटन, औद्योगिक क्षेत्र, विकास निर्माण तथा रेमिट्यान्स क्षेत्र प्रभावित हुने देखिएको छ ।
एसियाली विकास बैंक (एडीबी)ले कोरोना संक्रमणकै कारण विश्व अर्थतन्त्रमा कुल ग्राहस्थ्र्य उत्पादनको ०.१ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमी आउने प्रारम्भिक आँकलन गरिसकेको छ ।
नेपालको जीडीपी पनि १.१ प्रतिशतसम्म प्रभाव पर्नसक्ने प्रक्षेपण एडीबीले गरेको छ । यसकारण नेपालको अर्थतन्त्र दबाबमा रहेको बताइन्छ ।
कोरोनाको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा प्रभावित रहेको नेपाल राष्ट्र बैंकले औंल्याएको छ ।
कोरोनाको समस्या एक/दुई महिनामात्रै देखिँदा कुनै समस्या नहुने अर्थतन्त्रमा दबाब भने सिर्जना हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।
थोक तथा खुद्रा व्यापार प्रभावित हुने भएपनि कृषि क्षेत्रमा भने यसको न्यून प्रभाव पर्ने भएकोले आर्थिक वृद्धिमा भने त्यति प्रभाव नपर्ने प्रवक्ता भट्टको जिकिर छ ।
कोरोनाकै कारण निर्माण क्षेत्र, उद्योगमा प्रभाव पर्ने हुँदा आर्थिक क्रियाकलापमा प्रभावित भएपनि दुई महिनासम्म पहिलेकै अवस्थामा नियमित गतिमा चल्न सके अर्थतन्त्रमा त्यति धेरै धक्का नपर्ने भट्टको तर्क छ ।
औद्योगिक र व्यावसायिक क्षेत्रमा ब्याजदरमा सहुलियत दिने तथा न्यून ब्याजदरमा पुर्नकर्जा प्रदान गर्नेलगायतका व्यवस्था हुन सक्ने प्रवक्ता भट्टको भनाइ छ ।
आर्थिक वर्ष २०७५/७६ मा कुल ग्राहस्थ्र्य उत्पादनको २५.४ प्रतिशत रकम रेमिट्यान्सबाट भित्रिएको छ ।
कोरोनका कारण वैदेशिक रोजगारी प्रभावित हुँदा विप्रेषण आप्रवाहमा समस्या सिर्जना हुन सक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्