
काठमाडौं । ‘पूर्व सूचना र पूर्व तयारी’ भन्ने नाराका साथ देशभर विश्व मौसम दिवस मनाइएको छ ।
विश्व मौसम संगठनको स्थापना दिवसको अवसर पारेर सन् १९५० देखि हरेक मार्च २३ तारिखमा यो दिवस मनाउन थालिएको हो । मौसम दिवस मनाउन थालेको ७० वर्ष पुगिसक्दा पनि नेपालमा अझै मौसमजन्य प्रकोपको पूर्व सूचना प्रणाली बलियो हुन सकेको छैन ।
नेपाल लगायत विश्वभर नै जलवायुजन्य विपद्का घटनाहरू बढिरहेका छन् । प्रत्येक दिन १ सय १५ जनाले जलवायुजन्य विपद्बाट ज्यान गुमाइरहेका छन् । विगत ५० वर्षमा विश्वभरका २० लाख मानिसले जलवायुजन्य विपद्का कारण ज्यान गुमाएको तथ्याङ्क छ ।
मौसमजन्य प्रकोपबाट जनधनको सुरक्षाका लागि पूर्वसूचना प्रणाली नै महत्वपूर्ण हुने यस क्षेत्रका जानकारहरु बताउँछन् । तर, नेपाल सरकारले अझै पनि बाढीको पूर्वसूचना बाहेक अन्य बहुप्रकोपिय प्रकोपको पूर्वसूचना प्रणालीको स्थापना गर्न सकेको छैन ।
त्यसैगरी अन्तरदेशीय पूर्वसूचना प्रणालीका लागि पनि पहल गरेको देखिँदैन । जलवायु तथा विपद्विज्ञ डा. धर्मराज उप्रेतीले मानवजीवन बचाई भौतिक सम्पतिको संरक्षणका लागि पूर्वसूचना प्रणाली महत्वपूर्ण रहेकाले सरकार र निजी क्षेत्र मिलेर त्यसमा काम गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय जलवायु जन्य प्रकोपका घटना विश्वभर नै बढ्दै गएकाले प्रकोपको प्रभावजन्य पूर्वसूचना प्रणालीमा लगानी गर्नुपर्नेमा उप्रेतीको जोड छ ।
विपद्विज्ञ डाक्टर गंगालाल तुलाधरले पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति हुनबाट जोगाउने मुख्य दायित्व सरकारको भएकाले समयमै त्यसतर्फ ध्यान जानुपर्ने आवश्यकता औल्याउनुभयो ।
तुलाधरले मौसमजन्य प्रकोपको पूर्वसूचना प्राप्त गर्ने सन्दर्भमा सरकारले अन्तरदेशीय सूचना आदान प्रदानका लागि कुटनीतिक पहल गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले सरकारका निकायहरुले सबैलाई सूचनाको पहुँच पु¥याउने वातावरण सिर्जना नगरेको आरोप पनि लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्