१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


माथिल्लो अरुण सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह


104
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताउनु भएको छ ।

नेपाल विद्युत प्राधिरकणले परियोजनामा लगानी जुटाउने उद्देश्यले आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्माले यो परियोजना सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले लगानीकर्ताहरु लगानी फस्छ भनेर डराउनु नपर्ने बताउनुभयो । उहाँले सरकार अरुणसँगै बुढीगण्डकी, मुगु कर्णाली लगायत अन्य जलाशययुक्त आयोजना तत्काल अगाडि बढाउने तयारीमा रहेको पनि बताउनुभयो । परियोजना निर्माणका लागि वस्तुवादी योजना नीति तथा कार्यक्रम बनाएर ठूला परियोजनाको निर्माण अगाडि बढाउन जरुरी रहेको मन्त्री शर्माले उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माले अब कसैसँग ऋण लिँदा जुन परियोजनाको लागि ऋण लिएको हो त्यही आयोजनाले तिर्ने व्यवस्था गरिने बताउनुभयो । मन्त्री शर्माले माथिल्लो अरुणमा स्थानीयवासीको समेत लगानी रहने गरी शेयर संरचना तयार पारिने पनि बताउनुभयो ।

परियोजानका लागि लगानी कोषले मात्रै १ खर्ब लगानी गर्न तयार रहेको मन्त्री शर्माले जानकारी दिनुभयो । यस्तै, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले पनि बिजुलीको बजार कहाँ होला भनेर चिन्ता नगर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले विद्युत निर्यातको बाटो सरकारले खोली सकेको बताउनुभयो । मन्त्री भुसालले विद्युत निर्यात बढाउनको लागि भारतसँग राजनीतिक तथा कूटनीतिक तवरबाट सम्वाद भइरहेको बताउनुभयो ।

छलफलमा सहभागी लगानीकर्ताहरुले सरकारले परियोजनाको समय र लागत नबढाउने विषयमा प्रतिबद्धता गरे लगानी गर्न तयार रहेको बताएका थिए । यसमा लगानी गर्न विश्व बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायतका बहुपक्षीय दातृ निकाय समेत तयार रहेको विद्युत प्राधिकरणले बताएको छ । आयोजनाको कूल लागत २ खर्ब १४ अर्ब रुपैयाँ बराबर रहेको छ ।