उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्छ : थापा « Imagekhabar – Online News Portal of Nepal


उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्छ : थापा


156
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार किर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालको उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताउनुभएको हो ।

नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै उहाँले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताउनुभयो ।

महामन्त्री थापाले ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के–के हुने भन्ने विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।

विगतमा आफ्नो पार्टी प्रतिपक्षमा हुँदा पनि आफुले शिक्षा तथा स्वास्थ्य समितिमा र प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पटक–पटक यस विषयमा कुरा राखेको भएपनि सुनुवाई नभएको बताउनुभयो । वर्तमान सरकार बनिसकेपछि पनि निरन्तरको संसद अवरोधका कारण यस विषय प्राथमिकतामा पर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले नेपालको उच्च शिक्षालाई कतातर्फ लैजाने भन्ने विषयमा मुलुकको जेठो विश्वविद्यालय हुनुका नाताले त्रिभुवन विश्वविद्यालयले नै नेतृत्वदायी भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । विश्वविद्यालयमा जिम्मेवारीमा रहनुहुने कसैले पनि राजनीतिक पूर्वाग्रह राखेका काम गर्नु नहुने उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयलाई घाउ लाग्दा सबैको मन दुखेको भन्दै उहाँले त्रिविको रङ उडेर ओज र मान–प्रतिष्ठा गुम्दै गएको टिप्पणी गर्नुभयो । उहाँले विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीदेखि विश्वविद्यालयका भीसी र सरोकारवाला सबैले प्रयास गर्नुपर्ने प्रष्ट गर्नुभयो ।

राजनीतिक दलसँग आबद्ध भएका मानिसले त्रिवि बिगारेको चर्चा हुने गरेको भन्दै उहाँले उक्त भनाइ गलत प्रमाणित गर्न सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।