
ललितपुर, चैत्र ४ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दश वर्षे माओवादी सशस्त्र हिंसाका समयमा वेपत्ता पारिएका नागरिकहरुको बारेमा सूचना दिएर सघाउन अपील गरेको छ ।
आयोगमा उजुरी दिएका २ हजार ५ सय ६ जनाका बारेमा जानकारी माग्दै आयोगले सूचना निकालेको हो । द्वन्द्वका समयमा वेपत्ता पारिएको भन्दै आयोगसमक्ष उजुरी दर्ता गराएको २ हजार ५ सय ६ जनाको नाम यसअघि नै आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको थियो ।
पहिलो चार वर्षे कार्यकाल उजुरी संकलनमै बिताएको आयोगमा दोस्रो पटक नयाँ पदाधिकारीहरु आएपछि पहिलो कार्यकालमा उजुरी दर्ता गराएका वेपत्ता नागरिकका बारेमा सूचना दिन सर्वसाधारणसँग आग्रह गरिएको हो ।
दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूका बारेमा सत्य तथ्य सार्वजनिक गर्न र न्याय एवं परिपूरणका लागि सिफारिश गर्ने जिम्मेवारी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पाएको छ ।
बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको हो । सशस्त्र संघर्ष रोकिएको पनि १३ वर्षपछि सरकारद्वारा गठित आयोगले बल्ल बेपत्ताहरुका बारेमा थप सूचना र प्रमाण मागेको हो ।
राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनामा सबैभन्दा बढी बर्दियाका २ सय ५४ जनाले आफन्तको खोजीका लागि निवेदन दिएका छन् । सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रोल्पाबाट ९७ जना र रुकुमबाट ४५ जनाका आफन्तले आयोगमा यथार्थ जानकारी दिन माग गरेका छन् ।
यसैगरी दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट समान ४०/४०, काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ताको सूचीमा छन् ।
आयोगका सूचना अधिकारी निरञ्जन घिमिरेले वेपत्ता पारिएका व्यक्तिहरुको नामावली पहिले नै वेबसाइटमा सार्वजनिक गरिएको भएपनि अहिलेचाहिँ बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन आग्रह गरिएको जानकारी दिए ।
सूचना र प्रमाण प्रयोजनका लागि आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर या सिधैं पुल्चोकस्थित कर्मचारी सञ्चयकोषको भवनमा रहेको कार्यालयमा गएर सूचना दिन सकिने व्यवस्था मिलाएको पनि आयोगले जनाएको छ । त्यस्ता सूचना र प्रमाण अनुकूल समयमा आयोगसमक्ष पठाउन सकिने छ ।
https://ciedp.gov.np/uploads/files/bepatta%20name%20list%202073-8-13.pdf
प्रतिक्रिया दिनुहोस्