२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


कोरोना भाइरस संक्रमण रोक्न युरोपेली यूनियनका नेताहरुबीच भिडियो कन्फ्रेन्स हुने


0
Shares

काठमाडौं । कोरोनाभाइरस संक्रमण थप फैलिनबाट रोक्ने र संक्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यका साथ आज यूरोपेली यूनियनका नेताहरूबीच भिडियो कन्फरेन्स हुने भएको छ ।

यूरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले एक ट्वीटमार्फत भाइरस थप फैलिनबाट नियन्त्रण गर्न, प्रशस्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र भाइरस संक्रमण र औषधीबारे अनुसन्धान गर्न तथा आर्थिक वृद्धिमा आउनसक्ने संभावित नतिजालाई सिमित तुल्याउन सम्मेलनले विशेष छलफल गर्ने उल्लेख गरेका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका नेताहरूबीच यस्तै सम्मेलन गत आइतबार भएको थियो ।

विश्व स्वास्थ्य संगठनले अहिले यूरोपलाई कोरोना भाइरसको संक्रमणको केन्द्रका रूपमा घोषणा गरेको अवस्थामा ब्रसेल्सले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण प्रयासलाई थप सशक्त पार्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको बताएको छ ।

यसैबीच युरोपेली मुलुकहरुले संक्रमण रोक्नका लागि विभिन्न कदमहरु चालिरहेका छन् । फ्रान्सले आफ्ना सबै सीमा नाकाहरु बन्द गरेको छ । जर्मनीमा खाद्यान्नबाहेकका पसलहरु बन्द गर्न निर्देशन दिइएको छ ।

उता अमेरिककाले पनि स्वास्थ्य संकटकाल लम्बिन सक्ने भन्दै १० जनाभन्दा बढी संख्यामा जमघट नगर्न भनेको छ । ज्येष्ठ नागरिकलाई घरमै बस्न निर्देशन दिइएको छ ।(एजेन्सी)