Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


ओलीलाई शर्माको सुझाव– ‘उत्तेजित अभिव्यक्ति नदिनुस्, भत्किएको घर सम्हाल्नुस्’


559
Shares

चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उत्तेजित अभिव्यक्ति नदिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

एमालेकै घर भत्किरहेकाले त्यसलाई निर्माण गर्न लाग्न आग्रह गर्दै शर्माले उत्तेजित अभिव्यक्ति नदिन आग्रह गर्नुभएको हो ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानीमा शर्माले कांग्रेसलाई १३ सिटमा सीमित गर्ने ओलीले अभिव्यक्ति कार्यकर्तालाई उत्तेजित गर्न र आफूलाई आनन्द महसुस गराउनका लागि मात्र भएको बताउनुभयो ।

‘केपी ओलीलाई एकछिनको आनन्दका लागि भन्नुभयो, अन्यथा हिजोको चुनावका सारथी माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड कहाँ हुनुहुन्छ अहिले ?’, उहाँले भन्नुभयो, ‘आफ्नो घर भत्किएर विजोग छ, अन्य पार्टीलाई खसाल्न भन्दा भत्किएको घर सम्हाल्न आग्रह गर्छु ।’

गएको भन्दा अहिलेको चुनावमा देशव्यापी कांग्रेसको मुभमेन्ट बढेको भन्दै शर्माले ठूलो पार्टी बन्नेगरी तयारी भइरहेको बताउनुभयो । संसद चल्न नदिएर प्रतिपक्ष एमालेले जनताको म्यान्डेटकै अपमान गरेको टिप्पणी गर्नुभयो ।

महामन्त्री शर्माले अब बस्ने केन्द्रीय कमिटी बैठकले स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेृ टुंगो लगाउने बताउनुभयो । चैत ११ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यहाँ आउने रायका आधारमा निर्णय लिने बताउनुभयो ।

केन्द्रीय कार्यसमितिको बैठकले विगतका निर्वाचनमा भएका कमजोरी, सफलता, त्यसबाट भएको सिकाई लगायतमा पनि गहन छलफल हुने उहाँको भनाइ छ ।