
काठमाडौं, चैत्र ३ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी अब आफूहरुको पुस्ताले हाँक्ने प्रष्ट गरेका छन् ।
काठमाडौंमा पूर्वमहामन्त्री सिटौलाले डाकेको भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गगन थापालु पार्टी जिम्मेवारी नयाँ पुस्ताको काँधमा पुग्दा मात्र कांग्रेसको भविष्य राम्रो हुन्छ भन्ने स्पष्ट भैसकेको दावी गरे ।
भविष्यको कांग्रेस राम्रो हुन्छ भनेर आश्वस्त पार्ने जिम्मेवारी आफूहरुको काँधमा आएको पनि उनले बताए । उनले आफूहरुको समूहको शक्ति अझै बढाएर परिवर्तनको पक्षमा उभिने पनि बताए ।
पार्टीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद हुँदा विधि, विधानको पक्षमा उभिएर सिटौलाले मध्यमार्गी भूमिका खेलेको दावी पनि थापाले गरे । आफ्नो समूह कतै नअल्मलिएको दावी गर्दै थापाले समयमै महाधिवेशन गर्न पनि शक्ति बढाउनुपर्ने जिकिर गरे ।
१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता बाँड्न थालिसकेको अवस्थामा विधानविपरीत विभाग संयोजकहरु तोकेर सभापतिले गलत गरेको आरोप उनको थियो । नवलपरासीमा विधानमिचेर जिल्ला सभापति मनोनित गरिएको उनको भनाइ थियो ।
सभापति देउवाले महाधिवेशनलाई अल्मल्याउन खोजेको आरोप लगाउँदै नेता थापाले किन्तु परन्तु नभनी महाधिवेशन गराउनु सभापतिको जिम्मेवारी रहेको उनले सम्झाए ।
पार्टीभित्र सम्पूर्ण एकता आवश्यक रहेको भन्दै उनले विधान मिचेर अगाडी नबढ्न चेतावनी दिए । थापाले प्रतिपक्षको भूमिका प्रभावकारी हुन नसकेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्