२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


फ्रान्स र स्पेनमा कोरोना भाइरसको फैलावट रोक्न आपतकालीन प्रतिबन्धको घोषणा


0
Shares

काठमाडौं । युरोपका सबैभन्दा ठूला मुलुकहरू फ्रान्स र स्पेनले कोरोनाभाइरसको फैलावट रोक्न इटालीले जस्तै आपतकालीन प्रतिबन्धको घोषणा गरेका छन् ।

६ करोड ३५ लाख जनसंख्या रहेको फ्रान्समा अत्यावश्यक बाहेकका सबै सार्वजनिक स्थल बन्द गर्न आदेश दिइएको छ ।

विद्यालयहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । प्रधानमन्त्री एडुअर्ड फिलिपले फ्रान्समा कोरोना संक्रमितको संख्या बढिरहेको र जनताले सूचनाहरु बेवास्ता गरिरहेको बताए ।

उनले दुई शहरबीचको आवतजवात कम गर्न आग्रह गरे । फ्रान्समा कोरोना संक्रमितको संंख्या ४५ सय र मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

यस्तै ४ करोड ६७ लाख जनसंख्या रहेको स्पेनले पनि आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ । शैक्षिक संस्थाहरु बन्द छन् ।

इटाली पछि स्पेन युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । स्पेनमा १ सय ९१ जनाको मृत्यु भएको छ भने ६ हजार ४६ जना संक्रमित छन् ।

इटालीमा कोरोना भाइरसका कारण १४ सय ४० जनाको मृत्यु भएको छ भने मुलुकलाई नै क्वारेन्टाइनको अबस्थामा राखिएको छ ।

यता जर्मनीमा कोरोनाका कारण आठ जनाको मृत्यु र ३ हजार ७९५ जना संक्रमित भएको पुष्टि भएको छ ।

बेलायतमा संक्रमण तीब्र रुपमा बढेको छ । त्यहांको मृत्यु हुनेको संख्या २१ पुगेको छ । वैज्ञानिकहरूले सरकारलाई पत्र लेखेर कोरोना नियन्त्रणका लागि थप कडा उपायहरू लागू गर्न आग्रह गरेका छन् ।

शुक्रवार मात्र विश्व स्वास्थ्य संगठनले युरोप कोरोना महामारीको केन्द्रबिन्दु बनेको बताएको थियो ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरसको परीक्षण नेगेभिट आएको ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकाले अरु यूरोपेली मुलुक जस्तै बेलायतलाई पनि  यात्रा प्रतिबन्धको सूचीमा राखेको छ । (एजेन्सी)