Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


उखु किसानले अझै पाएनन् भुक्तानी


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, चैत १ । उखु उत्पादक किसानले अझैसम्म पनि भुक्तानी पाएका छैनन् ।

यसअघि, पटक–पटक उखु उद्योग तथा सरकारलाई आग्रह गर्दासमेत उनीहरुले भुक्तानी नपाएका हुन् ।

उखु किसानले उद्योगबाटै पाउनुपर्ने रकम नपाएको भन्दै पटक–पटक उद्योगीको ध्यानाकर्षण गराउँदै आएका छन् । तर, बाँकी भुक्तानी भने पाउन सकेका छैनन् ।

सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवनमा दुई वर्षअघि बिक्री गरेको उखुको अनुदान रकम नपाएको भन्दै रौतहट र बाराका उखु किसानले उद्योगको ध्यानाकर्षण गराउँदै आएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा इन्दुशङ्कर चिनी उद्योगमा उखु बिक्री गरेका अन्य ठाउँका किसानले सरकारबाट पाउनुपर्ने अनुदान रकम पाइसके पनि रौतहटको चन्द्रपुर र फतुवा विजयपुर तथा बाराको निजगढ नगरपालिकाका किसानले भने अनुदान रकम पाउन नसकेको रौतहट, फतेवा विजयपुरका उखु किसान जीवनाथ शिवाकोटीले बताए ।

यहाँका उखु किसानले एक करोड ४३ लाख बढी अनुदान रकम पाउन बाँकी छ ।

अनुदान रकम नपाउँदा व्यवहार नै प्रभावित भइरहेको गुनासो गर्छन्, रौतहट, चन्द्रपुर नगरपालिका–२ का उखु किसान मन्दिर राई ।

सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान रकम उपलब्ध गराउने सहमति गरेको थियो । तर, किसानले अझैसम्म भुक्तानी पाउन सकेका छैनन् ।

उद्योगको तर्फबाट भुक्तानी गर्नुपर्ने सम्पूर्ण रकम यसअघि नै भुक्तानी गरे पनि सरकारले उपलब्ध गराउने अनुदान रकम भने मन्त्रालयबाटै प्राप्त नभएकाले किसानलाई प्रदान गर्न नसकिएको चिनी उद्योगले जनाएको छ ।