
-दीपक घिमिरे/ईमेज
बुटवल । विश्वमै महामारीको रुप लिँदै गएको कोरोना भाइरस संक्रमणको त्रासका कारण नेपाल पनि प्रभावित बनेको छ ।
कोरोना संक्रमणको उद्गमस्थल चीनलगायतका देशबाट नेपाल प्रवेशमा रोक लगाएसँगै लुम्बिनी आउने पर्यटक बढी प्रभावित बनेका हुन् ।
स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।
सरकारले चीन, ईरान, ईटाली, कोरिया, जापान, जर्मनी, फ्रान्स र स्पेन गरी आठ देशका नागरिकलाई शुक्रबारबाटै र अन्य देशका नागरिकलाई शनिबारबाट नेपाल प्रबेशमा रोक लगाइएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालको भनाइ छ ।
सरकारले नेपाल प्रवेशमा रोक लगाएपछि जर्मन, फ्रान्स तथा स्पेनका नागरिक सीमानाकाबाटै फर्किएका छन् ।
भारत हुँँदै लुम्बिनीको भ्रमण गर्न आएका विभिन्न देशका नागरिकहरु नाकामा रोकिएसँगै निराश भएर फर्किन थालेका छन् ।
समयमै सूचना नगरेको र अध्यागमन विभागको सूचना समेत अस्पष्ट रहेकाले आफुहरुले अनाहकमा दुःख पाएको उनीहरुको भनाइ छ ।
अर्कोतिर सिमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कसमेत प्रभावकारी देखिएको छैन ।
हेल्थ डेक्समा कार्यरत कर्मचारी रीता थापाका अनुसार शुक्रबार साँझसम्म ३ हजार जनाको ज्वरो जाँच गरिएकोमा कोही पनि शंकास्पद पाइएका छैनन् ।
यता, प्रदेश ५ सरकारले पनि बेलहिया लगायतका नाकाबाट आवतजावत गर्ने सवारी साधनलाई समेत रोक्न निर्देशन दिइसकेको छ ।
सरकारले रुपन्देहीको बेलहिया नाका, बाँकेको रुपौडिया र नवलपरासी, कपिलवस्तु, दाङ, बर्दियाबाट सहजै भारत आउन जान सकिने भएकाले उक्त नाकामा कडाइ गर्न निर्देशन दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्