Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष ‘प्याकेज’को घोषणा गर्नुपर्छ : अर्थविद्


0
Shares

काठमाडौं, फागुन ३० । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अमेरिकाका लागि पूर्वनेपाली राजदूत डा. शंकर शर्माले ‘कोरोनाभाइरस (कोभिड–१९) का कारण नेपालको अर्थतन्त्रमा पनि ठूलो असर परेको भन्दै नेपाल सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष ‘प्याकेज’को घोषणा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा भएको कार्यक्रममा डा. शर्माले कोरोनाका कारण विश्वव्यापीरुपमा पर्यटन व्यवसायमा सबैभन्दा ठूलो असर परेको उल्लेख गरे ।

सरकारले पूर्वाधारको क्षेत्रमा के–कति खर्च भइरहेको छ भन्ने कुरा बाहिर ल्याउनुपर्नेमा उनको सुझाव छ ।

अर्थविद् एवं पूर्वराजदूत प्रा. डा. विश्वाम्भर प्याकुरेलले कोरोनाका कारण कतारले नेपालसहित १४ देशलाई प्रतिबन्ध लगाएको भन्दै यसबाट पनि नेपाललाई ठूलो असर परेको बताए ।

अहिलेपनि नेपालमा पाँचओटा ‘गल्फ कन्ट्री’बाट ५० प्रतिशत रेमिट्यान्स भित्रिएको छ ।

कतारबाट मात्रै नेपालमा १८ प्रतिशत बराबर रेमिट्यान्स आउने गरेको भन्दै यसबाट नेपाल प्रभावित हुनसक्ने उनले उल्लेख गरे ।

साना तथा मझौला उद्योगलाई राहत दिइ पर्यटन क्षेत्रमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यस्तै, अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारीले कोरोनाभाइरसका कारण ‘ग्लोबल इकोनोमी’मा ठूलो असर परेको भन्दै यसबाट नेपालमा जीउज्यानको क्षति नभएको तर अर्थतन्त्रमा परेको असरबाट भने जोगिन नसक्ने उल्लेख गरे ।

अहिलेपनि ५६ प्रतिशत परिवार रेमिट्यान्समा निर्भर भएकोले कोरोनाका कारण ठूलो असर परेको उनको भनाइ छ ।

अधिकारीले नेपालको अहिलेको अवस्था के हो ? भन्नेबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्ने तर्क गरे ।

यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सरकारका कारण नेपाली जनता मनोवैज्ञानिकरुपमा पनि कमजोर र हारेको अवस्थामा पुगेको टिप्पणी गरे ।