२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘सन् २०१४ यता वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो’


0
Shares

काठमाडौं, फागुन २९ । पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्या घटेको जनाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० सार्वजनिक गर्दै सन् २०१४ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको जनाएको हो ।

प्रतिवेदनमा पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका कारण खाडी मुलुकले कामदार कटौती गरेको र नेपालीको संख्या पनि घटेको जनाइएको छ ।

अधिकांश नेपाली युवा विदेशमा घरेलु कामदार, सेवा क्षेत्र तथा सुुरक्षाको क्षेत्रमा रहेको प्रतिवेदनमा जनाइएको छ ।

पछिल्ला वर्षहरुमा नयाँ श्रम गन्तव्य पनि थपिएका कारण पनि खाडी मुलुकमा जाने नेपालीको संख्यामा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, कतार जाने कामदारले सबैभन्दा बढी अर्थात् ३१.६ प्रतिशतले पुनः श्रम स्वीकृति लिएका छन् ।

कुल महिला श्रमिकको ५० प्रतिशत बढी पुनः श्रम स्वीकृति संयुक्त अरब इमिरेट्सका लागि लिएको प्रतिवेदमा उल्लेख छ ।

कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको हिस्सा बढी भएको मुलुकमध्ये नेपाल पाँचौं स्थानमा रहेको पनि प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले नेपाली श्रमिक अपमानित तथा जोखिममा रहने गरेको भन्दै सरकार स्वदेशमा नै रोजगारी सिर्जना गर्ने रणनीतिमा रहेको दाबी गरे ।

मन्त्री यादवले स्वदेशमा नै रोजगारी सिर्जना गरी उत्पादकत्व बढाउनको लागि काम गरिरहेको दाबी पनि गरे ।

यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले १५औं योजनामा समेत श्रमिकको उत्पादनशील क्षमता बढाउने तथा उत्पादकत्व वृद्धि गर्ने योजना भएको भन्दै स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

यस्तै, वैदेशिक रोजगारी क्षेत्रलाई सुधार गर्नको लागि वैदेशिक रोजगार नीति परिवर्तन गर्नुपर्ने तथा श्रमिकको उत्पादकत्व बढाउनका लागि श्रमको क्षेत्रमा सरकारले नीतिगत सुधार गर्नुपर्नेमा प्रतिवेदनमा जोड दिइएको छ ।