Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरु लाभान्वित


0
Shares

काठमाडौं, फागुन २९ । ललितपुर महानगरपालिका, समाजकल्याण महाशाखाले विभिन्न महिला समूहहरुका लागि आयोजना गरेको एकहप्ते उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ ।

महिला समूहका पदाधिकारीहरुलाई मन्तव्य राख्न तथा कार्यक्रम निर्माण र सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले महाशाखाले उक्त तालिम आयोजना गरेको हो ।

तालिम यही फागुन २० गते मंगलबारबाट सुरु भएको थियो ।

रेडियोकर्मी तथा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएको उक्त तालिममा १९ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

महाशाखाका प्रमुख बाबुराजा महर्जनको सभापतित्वमा आयोजित समापन समारोहका प्रमुख अतिथि सामाजिक विकास समितिका सदस्य, ललितपुर महानगरपालिका वडा नम्बर–१६ का महिला सदस्य एवं महानगरपालिका कार्यपालिका सदस्य सुप्रभा शाक्यले तालिम र समापन कार्यक्रम आयोजनाले आफूलाई निकै उत्साहित बनाएको बताए ।

सहभागीलाई प्रमाणपत्र वितरण गर्दै उनले तालिमपछि हुने विभिन्न कार्यक्रम आयोजनामा पनि यस्तै उत्साह निरन्तर होस् भनी शुभकामना व्यक्त गरे ।

कार्यक्रममा अतिथिका रुपमा समाजकल्याण महाशाखा अधिकृत ज्ञानीशोभा महर्जनको उपस्थिति थियो भने प्रशिक्षार्थी समूहको तर्फबाट यल सम्पदा महिला समूहकी सुधा शर्मा तथा सरस्वती मां पुचःकी रमिता महर्जनले मन्तव्य राखेका थिए ।

प्रशिक्षार्थीहरुले आयोजक महाशाखा तथा प्रशिक्षक बज्राचार्यलाई उपहारसहित सम्मानसमेत गरे ।

प्रशिक्षार्थी विष्णुदेवी महिला समूहकी राधा सत्यालले सञ्चालन गरेको कार्यक्रममा सोही समूहकी अनुराधा यादवले स्वागत मन्तव्य राखिन् भने शान्तिनगर सहारा महिला समूहकी रारा ढुंगेलले धन्यवाद ज्ञापन गरिन् ।