Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एसिया कप छनोटका लागि प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा, घाइते शरद ‘आउट’


0
Shares

काठमाडौं, साउन २४ । मलेसियामा हुने एसिया कप छनोट प्रतियोगिताका लागि बिहीबार प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ ।

पारस खड्काको कप्तानीमा छनोट हुने १९ सदस्यीय खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार शाह, करण केसी, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी, सुशन भारी, किशोर महतो र सागर पुन रहेका छन् ।

नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय क्रिकेटकाक्रममा घाइते भएका शरद भेषावकर भने टिममा परेका छैनन् ।

दाहिने औंला भाँचिएपछि पूर्णरुपमा निको हुन एक महिना लाग्ने भएकाले शरद टिममा नअटाएका हुन् ।

मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारसले खेलाडी छानेका हुन् ।

एसिया कपका लागि बन्द प्रशिक्षण यही साउन २९ गतेदेखि कीर्तिपुर मैदानमा हुनेछ । यही बन्द प्रशिक्षणको आधारमा अन्तिम १५ सदस्यीय टोलीको घोषणा हुनेछ ।

ब्याटिङ प्रशिक्षकमा देसाइ

एसियाली क्रिकेट परिषद (एसीसी)ले एसिया कप छनोटका लागि नेपालको ब्याटिङ प्रशिक्षकमा भारतका अपुर्भ सुबोध देसाइलाई नियुक्त गरेको छ ।

उनले बन्द प्रशिक्षणको पहिलो दिनदेखि नै प्रशिक्षण थाल्ने नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन् ।

एकहप्ते बन्द प्रशिक्षणपछि नेपाल भदौ ४ गते तीनओटा अभ्यास खेल खेल्न श्रीलंका जानेछ ।

भदौ १३ गतेदेखि मलेसियामा हुने एसिया कपको छनोटमा आयोजक र नेपालसँगै ओमान, युएई, हङकङ र सिंगापुर रहेका छन् ।

छनोट प्रतियोगिताको विजेताले भारत, पाकिस्तान र श्रीलंकाजस्ता विश्वविजेता टिमसँग एसिया कप खेल्न पाउनेछ ।