गृष्मा राजभण्डारी/भरत केसी (इमेज)
काठमाडौं, साउन २४ । नारायणहिटी दरबारभित्र रहेको राजा वीरेन्द्रको घर अर्थात् श्री सदन । कुनै बेला निकै नै शक्ति, शान, मान र ओजको प्रतीक मानिन्थ्यो ।
नारायणहिटी परिसरको उत्तरी भागमा रहेको त्यही श्री निवास विगत १७ वर्षदेखि भने एक्लिएको छ ।
दरबार हत्याकान्डमा वीरेन्द्रको वंशनाश भएपछि यो निवासमा पनि ताला लट्कियो ।
हुन त २०६२/०६३ को जनआन्दोलनले मुलुकबाट राजतन्त्रको बिदाइ नगरुन्जेल तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटीको भोगचलन गरे । तर, यो निवास शक्ति र शानकाबीचमा पनि नितान्त एक्लो नै रहिरह्यो ।
राजतन्त्रको अन्त्यसँगै नारायणहिटी दरबार सर्वसाधारणका लागि सार्वजनिक गरिएपनि ५० वर्ष आयु भुक्तान गरिसकेको वीरेन्द्रको यो निवास भने आममानिसका लागि खुला गरिएन ।
वि.सं. २०२३ सालमा बनाइएको श्री सदन अब भने केही समयमै सर्वसाधारणको अवलोकनार्थ सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
यो निवासको आँगनमा रहेको घन्टी राजा वीरेन्द्रले ‘घर पनि मन्दिर हो’ भन्ने सोचका साथ स्थापना गरेको बताइन्छ ।
तीन तलाको निवासमा प्रवेश गर्नेबित्तिकै राजपरिवारका तस्वीरले इतिहासतिर तानिहाल्छ । यसको सजावटमा कुनै परिवर्तन गरिएको छैन । जसरी पहिला सजाइएको थियो, त्यही अवस्थामा राखिएको छ ।
राजा वीरेन्द्रको परिवारको डाइनिङ हल, धारा भने खिया लाग्न थालिसकेको छ । डाइनिङ हलको आडमा रहेको छ, रानी ऐश्वर्यको कार्यालय ।
पहिलो तलामा प्रवेश गर्नेबित्तिकै दाहिनेतर्फ राजा वीरेन्द्र र रानी ऐश्वर्यको शयनकक्ष छ । शयनकक्षसँगै रहेको छ, राजा वीरेन्द्रको निजी कुकुर बस्ने ठाउँ ।
राजा वीरेन्द्रको पोसाक राख्ने दराजमा रहेका पोसाक हत्याकान्ड भएको भोलिपल्टदेखि खाली गरियो । कारण थाहा छैन !
बैठककक्ष । हेर्दा साधारण लाग्ने बैठककक्षका सोफाहरु जुन अवस्थामा छोडिएको थियो, त्यही अवस्थामा छ । राजा वीरेन्द्रको अतिप्रिय टेलिभिजन पनि यत्तिकै अलपत्र छ ।
तेस्रो तलामा रहेको छ, राजकुमार निराजनको शयनकक्ष । विद्यार्थी जीवनदेखि नै खेलकुदमा अतिरुचि राख्ने निराजनको शयनकक्षको भित्तामा आफैं टांगेका सामग्री पनि जस्ताको तस्तै छन् ।
निराजनको शयनकक्षसँगै रहेको ब्यायामकक्षमा टांगिएका ब्यायाम सामग्री भने धुलोले हेरिनसक्नु भएको छ ।
अधिराजकुमारी श्रुतिको शयनकक्ष हेर्दा निकै नै सामान्य लाग्छ । तर, भित्ताको बुट्टाजस्तै बेड श्रुतिको इच्छाअनुसार नै बनाइएको थियो ।
पूजा कोठा । तर, यहाँका भगवानका मूर्तिहरु भने हटाइएका छन् । यहाँ रहेका बहुमूल्य सरसामान राजदरबार हत्याकान्डपछि राजपरिवारकै अरु सदस्यले लगेको भनिन्छ ।
राजा वीरेन्द्रको इच्छामा सजाइएका जनावरका आकृति अहिलेपनि सजीव लाग्छ ।
एउटा दुःखद् इतिहासको साक्षी बनेको श्री सदन सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको संग्रहालयका प्रमुख अद्धैत श्रेष्ठले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्