Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


धरहरा पुनःनिर्माणले गति लियो, यस्तो बन्दैछ धरहरा


0
Shares

काठमाडौं । भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी काम तीव्र अघि बढेको छ ।

नौतलाको काम जारी रहेको , हालसम्मको  ३३ प्रतिशत  सम्पन्न  र  ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी दिए ।

दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनःनिर्माणको जिम्मा पाएको  थियो  । जम्मा तीन अर्ब ४८ करोड खर्च हुने जनाइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष धरहरा पुनः निर्माणको शिलान्यास गरेका थिए । अहिले दैनिक १५० कामदार  निर्माणमा खटिएका छन् ।

पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ ।  दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भर्‍याङ रहनेछ ।

लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ ।

उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ ।

पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । रासस