
एजेन्सी । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन ।
हिजो दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले पनि सपथग्रहण गरेको दाबी गरेका हुन् ।
घानीले राष्ट्रपति कार्यालयमै विशेष समारोहको आयोजना गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हालेको घोषणा गरेका थिए ।
समारोहमा अमेरिकी विशेष प्रतिनिधि, अमेरिकी कार्यवाहक राजदूत, नेटो फौजका कमान्डर जनरल स्कट मिलरसँगै युरोपेली सङ्घ, क्यानडा अस्ट्रेलिया, डेनमार्क, जर्मनी र नर्वेका राजदूतहरु उपस्थित थिए ।
अर्कोतर्फ प्रमुख कार्यकारी अब्दुलाहले पनि राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भएको दाबी गर्दै राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् ।
घानीले गत फेब्रुअरीमै आफू दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए ।
दुबै नेताहरुले गत सेप्टेम्बरमा भएको निर्वाचनको परिणाम आफ्नो पक्षमा आएको दाबी गर्दै आएका छन् ।
दुवै नेताको आ–आफ्नै दाबीका कारण अफगानिस्तानको राजनीति थप सङ्कटमा पर्ने देखिएको छ ।
सपथग्रहण कार्यक्रम चलिरहेकै बेला राजधानी काबुलमा बम विस्फोटनका घटना पनि भएका छन् ।
लामो समयदेखि गृहयुद्धमा फसेको अफगानिस्तानमा केही दिनअगाडि तालिवान लडाकु र अमेरिकाबीच आंशिक शान्ति सम्झौता भएको थियो ।
तर पनि हिंसात्मक घटना नरोकिँदा अफगानिस्तानकोे राजनीतिले सकारात्मक मोड लिन सकेको छैन ।
अमेरिकासँगको सम्झौता अनुसार अबको चरणमा तालीवान समूह र अफगान सरकारबीच शान्तिवार्ता गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्