२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


नेपाली पत्रकारिता अनुसन्धानमा आधारित पुस्तक प्रकाशित


377
Shares

काठमाडौं । नेपाली पत्रकारिता सम्बन्धि अनुसन्धानमा आधारित पुस्तक ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ प्रकाशित भएको छ ।

नेपालभित्र र बाहिर रहेका २१ जना पत्रकारिता/सञ्चार अध्येताहरुको लेखन समेटेर तयार पारिएको सो पुस्तक बेलायतको प्रकाशन गृह राउटलेजले प्रकाशित गरेको हो ।

नेपालको पत्रकारिता क्षेत्रबारे जान्न खोज्ने विश्वका अध्येतालाई पनि सो पुस्तक उपयोगी हुने सहप्राध्यापक डा. कुन्दन अर्यालले बताउनुभयो ।

उहाँले नेपालीपन सहितको नेपाली मिडिया र सोसाईटीलाई विश्लेषण गरेर विश्व दृष्टिकोणसहित पुस्तक तयार पारिएको उहाँले बताउनुभयो ।

नेपालको मिडिया इन्डष्ट्रिबारे जान्न चाहनेलाई पनि सो पुस्तक उपयोगी हुने आमसञ्चार अध्येता लक्ष्मण हुमागाईले बताउनुभयो ।

नेपाल विज्ञापन बोर्डका अध्यक्ष समेत रहनुभएका हुमागाईले पुस्तकमा नेपाली मिडियालाई व्यवसायिक रुपमा अघि बढाउन र त्यसमा गरिएको लगानीलाई खेर जान नदिन एउटै छुट्टै स्वायत्त नियमनकारी निकायको जरुरी भएको कुरालाई पनि औंल्याइएको बताउनुभयो ।

पुस्तक भित्र चार खण्डमा १८ परिच्छेदहरु समेटिएका छन् । व्यवसायिक दृष्टिकोण शीर्षकको पहिलो खण्डमा २१ औं शताब्दीमा नेपाली पत्रकारिता र दृष्टिकोण डा. भानुभक्त आचार्य र डा. श्याम शर्मा, मिडियाको जवाफदेही संयन्त्रका रुपमा प्रेस काउन्सिल नेपाल डा. भानुभक्त आचार्य, श्रीमन शर्मा र डा. समीक्षा कोइराला, प्रशारण माध्याममा नीतिगत सुधार हुमागाई र डा. तुलसी आचार्य, विदेशबाट सञ्चालित नेपाली अनलाइन मिडियाको दीगोपना र व्यावसायिक विकास भगीरथ योगी र डा. जगन कार्की र नेपाली समाचार कक्षमा डिजिटल रुपान्तरण प्राध्यापक रामकृष्ण रेग्मी समावेश गरिएको छ । त्यसैगरी प्राज्ञिक दृष्टिकोण, सामाजिक–राजनीतिक दृष्टिकोण, प्राविधिक दृष्टिकोण पनि पुस्तकमा समावेश गरिएको छ ।

अढाई वर्ष लामो गहन र सामूहिक मेहनतपछि प्रकाशित सो पुस्तक मिडिया अध्येताद्धय डा. भानुभक्त आचार्य र डा. श्याम शर्माले सम्पादन गर्नुभएको हो ।