मनिता रेग्मी कोइराला (इमेज)
रसुवा, फागुन २६ । ‘कोरोनाभाइरस’ संक्रमणको प्रभाव सान्जेन जलविद्युत् आयोजनामा पनि परेको छ ।
आगामी असार महिनासम्ममा उत्पादन सुरु गरिने भनिएको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको काम प्रभावित बनेको हो ।
उपकरण जडान गर्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीका आठजना प्राविधिकमध्ये सातजना कोरोनाभाइरसका कारण नआएकाले उपकरण जडानमा समस्या आएसँगै काम प्रभावित बनेको हो ।
रसुवाको आमाछोदिङमो गाउँपालिका–५ मा निर्माण भइरहेको माथिल्लो सान्जेन १४.८ मेगावाटको जलविद्युत् आयोजनाको एक हजार ३०० मिटरको हेडरेस सुरुङ र विद्युतगृहसमेतका संरचनाको निर्माणको काम पूरा गरी उपकरण जडानको काममात्र बाँकी छ ।
तर, अहिले चिनियाँ ठेकेदार कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानमा समस्या आएको कार्यकारी निर्देशक किरण श्रेष्ठले बताए ।
यो आयोजनाको उत्पादन केही ढिलो हुन देखिएपनि तल्लो सान्जेन भने एक वर्षमा पूरा हुने बताइएको छ ।
दुवै आयोजनाको पानी ल्याउने संरचना भूमिगत भएपनि विद्युत् उत्पादन गर्ने गृह भने बाहिरी सतहमा हुने आयोजनाले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्