काठमाडौं, फागुन २६ । ‘कोरोना’को कारण एअरलाइन्सलगायत पर्यटन श्रमिक कटौती नगर्न यूनिट्राभले चेतावनी दिएको छ ।
कोरोनाको कारण देखाउँदै कानुनमाथि धावा नबोल्न संगठनले सचेत गराएको हो ।
पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले छिमेकी देश चीनबाट फैलिएको कोरोनाभाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाइ उत्पन्न भइरहेका बेला एअरलाइन्सलगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही–कसैले नगर्न संगठनले विज्ञप्तिमार्फत् चेतावनी दिएको छ ।
एअरलाइन्सदेखि अन्य क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा–सुविधामा कटौतीदेखि बेतलबी बिदा दिनेसम्मका विषय सार्वजनिक भइरहेका छन् । यूनिट्राभले यस विषयलाई नजिकबाट नियालिरहेको जनाएको छ ।
सतर्कता अपनाउनुभन्दा पनि बढीभन्दा बढी हौवा फिँजाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एअरलाइन्स, संस्कृतिलगायत अन्य क्षेत्रका संघ–संस्थाले सामाजिक सुरक्षा र श्रम ऐनले लागु गरेको व्यवस्थाविपरीत श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा–सुविधा कटौती गर्ने एकतर्फी भनाइ आएको विषय आफूहरुको संगठन यूनिट्राभलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्