Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


उखु क्रसिङ सकेर बन्द हुन थाले चिनी उद्योग, भुक्तानी अनिश्चित भएपछि किसान चिन्तित


0
Shares

सर्लाही, फागुन २६ । उखुको भुक्तानी नगरी सर्लाहीको गौडेतास्थित महालक्ष्मी चिनी उद्योग बगदह बन्द गरिएपछि किसान चिन्तित भएका छन् ।

चालू क्रसिङ सिजनमा ६ लाख ८१ हजार क्विन्टल उखु क्रसिङ सकेर एक साताअघि उद्योग बन्द गरिएको हो ।

उद्योगले चालू सिजनमा किसानबाट खरिद गरेको उखुको एक रुपैयाँ पनि भुक्तानी नगरेको बताइएको छ ।

यो उद्योगले गत वर्षको पनि अझै केही रकम भुक्तानी नदिएको किसानले गुनासो गरेका छन् ।

उखु क्रसिङ सकेर उद्योगले धमाधम चिनी बिक्री गरिरहे पनि आफूहरुको भुक्तानी दिन चासो नदिएको गोडैताका उखु किसान रामबाबु महतोले गुनासो गरे ।

अघिल्ला वर्षहरुमा झैं योपटक पनि चिनी उद्योगबाट भुक्तानी लिन संघर्ष नै गर्नुपर्ने अवस्था आएको भन्दै उखु किसानले दुखेसो पोखिरहेका छन् ।

उखु किसानसमेत रहेका गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले किसानलाई तत्कालै भुक्तानी गर्न उद्योगलाई ताकेता दिइरहेको जानकारी दिए ।

सर्लाहीका तीनओटा चिनी उद्योगमध्ये यस वर्ष महालक्ष्मी चिनी उद्योग बगदह र इन्दुशंकर चिनी उद्योग हरिवनमात्रै सञ्चालन भए ।

अघिल्ला वर्षहरुको भुक्तानी गर्न नसकेर अन्नपूर्ण चिनी उद्योग धनकौल भने सञ्चालन नै हुन सकेन ।

चिनी उद्योग सञ्चालन नहुँदा जिल्लाको दक्षिणी भेगका धेरै किसानले यस वर्ष सख्खर अर्थात् मिठ्ठा बनाउने क्रसर उद्योगमा सस्तो मूल्यमै उखु बिक्री गरेका छन् ।

सञ्चालनमा आएका दुईमध्ये इन्दुशंकर चिनी उद्योग हरिवनले अहिले पनि उखु क्रसिङ गरिरहेको छ ।

उद्योगले हालसम्म २६ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको र चैत पहिलो सातासम्म किसानले ल्याएका सबै उखु क्रसिङ गरेर उद्योग बन्द गर्ने तयारी भइरहेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले बताए ।

उनकाअनुसार उद्योगले चालू क्रसिङ सिजनको ५० करोड रुपैयाँ भुक्तानी पनि गरिसकेको छ ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले इन्दुशंकरले क्रमिकरुपमा भुक्तानी दिइरहे पनि बगदह र धनकौल चिनी मिलले भुक्तानीमा किसानलाई दुःख दिइरहेको बताए ।

सरकारलाई समेत नटेर्ने यी दुई चिनी उद्योगसामु किसान निरीह बन्नुपरेको मैनालीको भनाइ छ ।

सर्लाहीका उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदान रकमसमेत अझै पाउन सकेका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयमा अनुदान रकम आएपनि लिने प्रक्रिया झन्झटिलो बनाइएको महासंघका अध्यक्ष मैनालीले बताए ।