
काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि आज आइतबार दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
शनिबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।
सिन्धुपाल्चोक कांग्रेस सभापति पदका लागि जंगबहादुर लामा, बंशलाल तामाङ र प्रेमध्वज लामाले प्रतिस्पर्धा गरेका थिए । शनिबार भएको निर्वाचनबाट जंगबहादुरले सबैभन्दा बढी ७०५ मत ल्याउनु भएको थियो भने बंशलालले ६२९ र प्रेमध्वजले ४९३ मत ल्याएका थिए ।
कांग्रेसको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण अब बढी मत ल्याउने दुई जना (जंगबहादुर र बंशलाल) बीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।
यसैबीच, तेस्रो भएका प्रेमध्वजले दोस्रो चरणको मतदानमा वंशलाललाई समर्थन गर्ने विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्