
काठमाडौं, फागुन २५ । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै सन्दर्भमा महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार, रोकथाम, दमन तथा सजायलाई व्यवस्थित बनाउन तयार पारिएको बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धीको पूरक आलेख पार्लेमो प्रोटोकल पारित गर्ने प्रक्रिया शुरु भएको छ ।
बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धीको पूरक आलेख पार्लेमो प्रोटोकल २००० राष्ट्रिय सभाले पारित गरिसकेको छ ।
अहिले यो प्रतिनिधि सभाबाट पारित गर्ने प्रक्रियामा छलफलका लागि प्रस्तुत भएको छ । यो पूरक आलेख अनुमोदन गरेपछि मानव बेचबिखनमा संलग्नलाई अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभ्याउन सकिने बैधानिक प्रवन्ध हुनेछ ।
प्रतिनिधि सभाबाट पारित भएपछि मानव बेचबिखन विरुद्ध कठोर कदम चाल्ने बाटो खुल्नेछ । महासन्धी अन्तर्गतको महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार, रोकथाम, दमन तथा सजायमा केन्द«ीत आलेखलाई पालेर्मो प्रोटोकल भनिन्छ ।
यसको अनुमोदनसँगै मानव बेचबिखन तथा ओसारपसार कसुरलाई बहुराष्ट्रिय संगठित अपराधसरह मानेर अन्तर्राष्ट्रिय न्यायालयमा समेत मुद्दा चलाउने बाटो खुल्नेछ ।
मानव बेचबिखनका आयाम बदलिएर गैरकानुनी श्रम स्वीकृति लिएर नेपाली चेलीबेटीको बेचबिखन भइरहेको सन्दर्भमा यो आलेखले त्यसलाई रोक लगाउने विश्वास गर्दछन् महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपालकी कार्याकारी निर्देशक बेनुमाया गुरुङ बताउछीन् ।
सन् २००० मा हस्ताक्षरका लागि खुला भई १ सय ७५ देशले अनुमोदन गरिसकेको आलेखमा नेपालले सन् २०११ मा हस्ताक्षर गरेको थियो । महिला तथा बालबालिकाको बेचविखन तथा ओसार नियन्त्रण र रोकथाम, बेचबिखनमा परेकाको मानव अधिकारको पुर्ण सम्मानका साथ संरक्षण र सहयोग तथा पक्ष राज्यहरुबीच आपसी सहयोग, समन्वय र सहकार्यमा आलेख सहयोगी हुनेछ ।
यससँगै बेचिएकाहरुलाई स्वदेश फर्काउने कानूनी व्यवस्था हुनेछ । यसले पीडितलाई न्याय दिने छ भने पीडकलाई दण्डित गर्नेछ ।
नयाँ प्रवन्धपछि अन्य मुलुकबाट नेपालमा बेचिएकाहरुको समेत उद्धार र फिर्तीमा सहजता आउनेछ । मानव बेचबिखनको श्रोत, गतव्य र टान्जिट मुुलुक भईकन पनि आज भन्दा बीस बर्ष अघी जारी भएको पार्लेमो प्रोटोकल नेपालले समयमा अनुमोदन नगर्दा अन्तर्राष्टिय रुपमा पनि प्रश्न उठिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्