
काठमाडौं । एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेन्ट बैंकिङ्ग सेवाअन्तर्गत ‘आइडिया टू आईपीओ’ सेवा सञ्चालनमा ल्याएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यापिटलले मर्चेन्ट बैंकिङ्ग सेवाअन्तर्गत ‘आइडिया टू आईपीओ’ सेवाको शुभारम्भ गरेको हो ।
यस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको सोचदेखि स्थापना, विस्तार हुँदै आईपीओ जारी गर्ने अवस्थासम्म पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा अन्य आवश्यक परामर्श दिने क्यापिटलका बैंकिङ्ग प्रमुख दामोदर रायामाझीले जानकारी दिनुभयो ।
क्यापिटलले कृषि, हाइड्रोपावर, होटल तथा पर्यटन, स्वास्थ्य सेवा, टेक्सटायल, व्यापार तथा उत्पादन, मेडिकल, इ–कमर्स, निर्माण क्षेत्र लगायत प्रचलित कानूनबमोजिम स्थापना भएका कम्पनीहरूलाई परामर्श दिने रायामाझीले बताउनुभयो ।
क्यापिटलले श्रोत जुटाइदिने मात्र नभइ कम्पनीलाई नयाँ उचाइमा पुर्याउनको लागि सम्बन्धित कम्पनीको व्यवसायको मापन, तत्काल सुधार गर्नुपर्ने पक्ष, दक्ष जनशक्तिको विकास तथा नियुक्ती, कम्पनीको ब्राण्डिङ्गका कामहरू गर्नेछ ।
यस्तै, व्यावसायिक कार्ययोजना, भविष्यमा आइपर्ने चुनौतिहरूको सामना गर्न आवश्यक रणनीतिको तर्जुमा, व्यवसाय विस्तार तथा लागत कम गर्न नविनतम प्रविधिको प्रयोगका साथै कम्पनीको व्यवसाय विस्तारको लागि सही समयमा आवश्यक पूँजी व्यवस्थापनसमेतका काम क्यापिटलले गरिदने उसको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्