Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


ज्याठामा रहेका खुला सार्वजनिक जग्गामा पुरातत्व विभागले सुरु गर्‍यो उत्खनन्


1.2k
Shares

काठमाडौं । ३ सय ५३ वर्ष पुरानो ऐतिहासिक महत्वका काठमाडौं ज्याठामा रहेको “लाक्षी” खुला सार्वजनिक जग्गा र सत्तलमा पुरातात्विक विभागले उत्खनन् शुरु गरेको छ ।

सो जग्गामा काठमाडौं महानगर वडा नं २७ ले आफनो कार्यालय सहित व्यापारिक भवन बनाउन लागेपछि स्थानीय र अभियन्ताहरुको निवेदनमा विभागले अध्ययन अनुसन्धानका लागि उत्खनन् थालेको हो ।

पुरातत्वविज्ञ उद्धव आचार्यको नेतृत्वमा थालिएको उत्खन्न कार्य केही दिनमा सकिने र त्यसपछि प्रतिवेदन बुझाइने बताइएको छ । उत्खन्नको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई सो वडाका जनप्रतिनिधि, ज्याठा युवा तथा सामुदायिक विकास क्लवका पदाधिकारी र स्थानीय जीम खानाका खेलाडीहरुले स्वीकृति विना फोटो र भिडिओ खिच्न नपाउने भन्दै समाचार संकलनमा अवरोध गर्न खोजेका थिए ।

क्लवले आफूहरुसँग लालपूर्जा रहेको दावी गरेको छ । स्थानीयले वि.सं २०५५ सालमा मात्र स्थापना भएको क्लवले छुस्या बहालको भाग रहेको सयौं वर्ष पुरानो खुला सार्वजनिक जग्गा कसरी आफनो नाममा दर्ता गर्‍यो भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने आवाज उठाएका छन् ।

नेपाल सम्वत् ७८८ को शिलापत्रमा ध्वखाबहालका गुणज्योति बज्राचार्यले महाविहार बनाएपछि लोकहितका लागि विहार अगाडि सबैले देख्ने गरी सत्तल निमार्ण गरेको र सँगै खुला सार्वजनिक जग्गा संकल्प गरेर राखेको प्रमाण विहार भित्रै सुरक्षित छ । गत माघ २३ मा महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष लगायतले भवन शिलान्यास गरेपछि ऐतिहासिक सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै स्थानीय र अभियन्ताहरुले विरोध गर्दै आएका छन् ।