१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


पत्रकार वीरेन्द्र शाहका हत्या आरोपी १२ वर्षपछि पक्राउ


0
Shares

बारा । बाराका पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपी १२ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

फौजदारलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड हवाई फाइरिङ समेत गर्नु परेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले बताए ।

लामो समयदेखि फरार रहेका फौजदार होली मनाउन घरमा आएको गोप्य सूचनाका आधारमा प्रहरी उनको घर पुगेको थियो ।

नियन्त्रणमा लिने क्रममा केही आफन्तले अवरोध गरेपछि हवाइ फाइरिङ गर्नु परेको डिआइजी कार्कीले बताए ।

पत्रकार साहको २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या भएको थियो ।

अपहरणको ३५ दिनपछि उनको शव डुमरबाना गाविस ९ मा पर्ने चारकोसे जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।