-दीपक घिमिरे/ ईमेज
भैरहवा । चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालका राष्ट्रिय गौरवका आयोजनामा पनि परेको छ ।
जसमध्ये अपेक्षाकृत गतिमा निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि प्रभावित भएको हो ।
अंग्रेजी नयाँ बर्ष मनाउन चीन पुगेका जनशक्ति कोरोना भाइरसका कारण नेपाल फर्कन नपाएपछि विमानस्थल निर्माणको काम प्रभावित बनेको छ ।
विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै चीनबाट प्राविधिक जनशक्ति र विमानस्थलमा जडान गर्नुपर्ने उपकरण आउन सकेका छैनन् ।
जनशक्ति र उपकरण आउन नसक्दा विमानस्थलको काम प्रभावित भएको आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारी बताउँछन् ।
कोरोनाको संक्रमणका कारण चीनबाट ल्याइने उपकरणहरु टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट जडान गर्न र धावनमार्गका लागि आवश्यक लाइटलगायतका उपकरणहरु ल्याउन सकिएको छैन ।
कोरोना भाइरसका कारण २० जना चिनियाँ जनशक्ति नेपाल आउन सकेका छैनन् ।
जसले गर्दा टर्मिनल बिल्डिङ र रनवेमा उपकरण जडान गर्न ढिलाइ भएको आयोजना प्रमुख प्रवेश अधिकारीको भनाइ छ ।
८८ प्रतिशत काम सकिएको विमानस्थलको निर्माण अवधि केही लम्बिन सक्ने देखिएको छ । विमानस्थलमा अहिले फिनिसिङको काम भइरहेको छ ।
एसि, वाईरिङ, टायल्स, मार्वल, ग्रेनाईट, आल्मुनियम तथा सिसा जडानका काम भइरहे पनि अन्य काम भने प्रभावित भएको छ ।
सन् २०१४ को डिसेम्बरदेखि निर्माण कार्य सुरु भएको विमानस्थल आगामी नयाँ वर्षसम्ममा सञ्चालनमा ल्याइने तयारी रहे पनि कोरोना संक्रमणले त्यो समय धकेलिने भएको हो ।





प्रतिक्रिया दिनुहोस्