Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइयो

अनलाइन सूचना प्रणाली लागू भएपछि श्रमिकले छुट्टै लाइन लाग्नु नपर्ने

338
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क हटाइएको हो ।

श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम डेस्क हटाउन निर्देशन दिनुभएको हो । श्रम डेस्क हटाउनका लागि मन्त्री श्रेष्ठसहितका अधिकारीहरु विमानस्थल पुग्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘आजदेखि वैदेशिक रोजगारमा जाँदाखेरी वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि छुट्टै लाइन या कुनै पनि झन्झटिलो प्रक्रिया जुन छ, त्यो आजदेखि नपर्नेगरी कुनैपनि गेटबाट जसरी अरु यात्रुहरु जानुहुन्छ, त्यसरी नै श्रमिकहरुलाई जाने व्यवस्थाको सुरूवात हामीले गरेका छौँ । श्रमिकहरु आउँदाखेरी पनि सम्मान हुनेगरी पर्यटन मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरेर छिट्टै श्रमिकहरुलाई सम्मान सहितको सेवाको हिसाबले अगाडी बढेका छौँ ।’

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेकाले श्रम डेस्क आवश्यक नभएको मन्त्रालयले जनाएको छ । विमानस्थल प्रवेश गर्ने श्रमिकहरुले अब ३ वटै प्रवेशद्वारबाट प्रवेश गर्न पाउने भएका छन् ।