-राजन समीप /ईमेज
भोजपुर । कृषि व्यवसायमा लगानी र परिश्रम गरी स्वदेशलाई नै कर्मभूमि बनाउने युवाहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
तर अर्कोतिर राज्यको तर्फबाट पर्याप्त साथ र सहयोग नपाउँदा भने कृषि व्यवसायीमा निराशा पनि थपिएको छ । राम्रो कमाइको अभिलाशा बोकेर भोजपुरको आमचोक गाउँपालिका, दुम्माना आमबोटका रोशन मगर ५ वर्षअघि कतार पुगे ।
त्यहाँ पुगेपछि मार्बल बनाउने काममा लागेका उनलाई काम गाह्रो लाग्यो । एकातिर गाह्रो काम अर्कोतिर श्रम अनुसारको कमाइ पनि हात नलागेपछि २ वर्ष नपुग्दै उनी घर फर्किए ।
विदेशबाट फर्केर आफ्नै गाउँमा खेतीपाती र कुखुरापालन सुरु गरेका रोशन अहिले सफलताको सिँढीमा उकालो लागिरहेका छन् ।
विदेशमा गर्नुपर्ने मिहिनेत र दुख भोगेका उनलाई आफ्नै भीरपाखामा पनि सुन फलाउन सकिने विश्वास जागेको छ ।
व्यावसायिक कुखुरापालनको तालिम लिएपछि कुखुराको फर्म खोलेका उनले ३६ रोपनी जग्गामा तरकारीखेती पनि सुरु गरेका छन् । अहिले उनको मासिक ४० हजारसम्म आम्दानी हुन्छ ।
तालिम लिएका उनले कुखुराका लागि चाहिने सम्पूर्ण भ्याक्सिन लगाउने, कुखुराको चल्ला उत्पादन गर्ने, विउविजन उत्पादन गरिरहेका छन् ।
आफूले उत्पादन गरेको तरकारी र कुखुराले सिंगो गाउँपालिका क्षेत्रका बजार धानिरहेको रोशनको भनाइ छ ।
एकातिर खेती र कुखुरा फर्म चलाउने मगर अर्कोतिर गाउँका अन्य किसानलाई कुखुरापालनसम्बन्धी तालिम र काम पनि सिकाउँदै आएका छन् ।
उनीबाट प्रेरित भएका अन्य कृषकहरुलाई व्यावसायिक रुपले कृषिमा लाग्ने मोह बढाएको छ ।
तर आफ्नो टोललाई नै कृषिको नमुना क्षेत्र बनाउने लक्ष्यले काम गरिरहेको भए पनि राज्य तथा सरोकारवाला सरकारी निकायले सहयोग नगरेको उनीहरुको गुनासो छ ।






प्रतिक्रिया दिनुहोस्