
प्रज्ञा तिमल्सिना/दिलिप पोखरेल (इमेज)
काठमाडौं, असार १ । तत्कालीन माओवादी कार्यकर्ताबाट मारिएको छोराका हत्याराका लागि कानुनको कठघरामा ल्याउन माग गर्दै वर्षौंदेखि सत्याग्रहमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीको आत्मकथा ‘न्यायको अवसान’ सार्वजनिक गरिएको छ ।
गंगामाया अधिकारी बचाऊ अभियानको सहयोगमा पत्रकार एवं लेखक घनश्याम खड्काले गंगामायाको आत्मकथा लेखेका हुन् ।
छोराका हत्यारालाई कारबाही गर्न माग गर्दै गंगामाया विगत ६ वर्षदेखि वीर अस्पतालमा अनशनरत् छिन् ।
गंगामायाका पति नन्दप्रसादको पनि अनशनकैक्रममा मृत्यु भएको थियो भने उनको अझैसम्म दाहसंस्कार हुन सकेको छैन ।
किटानी उजुरी परेका व्यक्तिहरुलाई कारबाही गर्ने मागको सम्बोधन गर्न सरकार झन्–झन् उदासीन बन्दै गएको अवस्थामा आफ्नो मृत्युपछि पनि न्यायको लडाइँ नमरोस् भन्ने उद्देश्यले गंगामायाको आग्रहमा आत्मकथा तयार पारिएको हो ।
भर्खर एसएलसी परीक्षा दिएर चितवन गएको कान्छो छोराको हत्याबाट उत्पन्न पीडादेखि छोराका हत्यारालाई कारबाहीको माग गर्नेक्रममा मानसिक अस्पताल पु¥याइएकोसम्मका घटनाक्रम आत्मकथामा समेटिएका छन् ।
त्यस्तै, न्यायको भीख माग्दा–माग्दै श्रीमान् गुमाउनुपरेको पीडा र त्यसपछि एक्लै अघि बढ्दाका संघर्ष पनि आत्मकथामा समेटिएको कथा लेख्दै गर्दा आफू पनि भावुक बनेको लेखक खड्काले बताए ।
शुक्रबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सर्वोच्च अदालतको आदेशलाई राजनीतिक सहमति भनेर मनपरी गर्न नपाइने बताए ।
नेपालको नागरिक समाज कित्ता–कित्तामा विभाजित भएकामा दुखेसो पोख्दै अध्यक्ष शर्माले नेपालमा राज्यसत्ताले चाह्यो भने जोसुकैलाई सिध्याउन सक्छ भन्ने देखिएको बताए ।
कार्यक्रममा संविधानविद् निलाम्बर आचार्यले अन्यायकासामु हार खानु हुँदैन भन्ने प्रमाण गंगामाया बनेको बताए ।
यस्तै, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राज्य न्यायको प्रतिवादी भएर उभियो भने न्याय समाप्त भएको बुझ्नुपर्ने धारणा राखे ।
बुकहिल पब्लिकेसनले पुस्तक प्रकाशन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्