
काठमाडौं, फागुन २० । अर्थमन्त्री डा. युवराज खतिवडाको पुर्ननियुक्ति हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्रीको तर्फबाट डा. खतिवडालाई नै पुर्ननियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी भएको छ ।
गएको बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका डा. खतिवडाले फागुन २१ गते आफूले शपथग्रहण लिने जिकिर गरेका थिए ।
डा. खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार (आज) सकिँदैछ ।
राष्ट्रियसभा सदस्यका रुपमा मन्त्री बनेका खतिवडाको मन्त्रीका रुपमा पनि कार्यकाल आजै सकिँदैछ ।
पुर्ननियुक्ति हुने भएपछि पुनः डा. खतिवडा नै अर्थमन्त्री रहिरहनेछन् । सांसद नभएपनि प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ ।
डा. खतिवडा र नेता वामदेव गौतममध्ये कसलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने भन्नेबारे सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तीव्र मतभेद रहेको बेला उनलाई अर्थमन्त्रीमा पुर्ननियुक्ति गर्न लागिएको हो ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली डा. खतिवडाको मनोनयनको पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु नेता गौतमको पक्षमा देखिएका छन् ।
गौतमनिकट स्रोतले भने प्रधानमन्त्रीको तर्फबाट राष्ट्रियसभामा मनोनयनका लागि कुनै सन्देश प्राप्त नभएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्