
काठमाडौं । पशुपतिनाथमा दर्शन गर्ने राम्रो व्यवस्था गरिएको भन्दै दर्शनार्थीहरुले खुशी व्यक्त गरेका छन ।
महाशिवरात्रीको अवसरमा आज मंगलबार बिहानै पशुपतिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरुले सहज र आनन्द हुनेगरी दर्शन गर्ने व्यवस्था गरेको भन्दै खुलेर प्रशंशा समेत गरेका हुन ।
काठमाडौं कलंकीकी नारायणी खड्काले धेरै आनन्दसँग पशुपतिनाथको दर्शन गर्न पाइएको बताउनुभयो । ज्येष्ठ नागरिकसहित दर्शन गर्न पुग्नु भएकी उहाँले दर्शन गर्नेहरुले विगतमा जस्तो भिड व्यहोर्नु नपरेको अनुभव पनि बताउनुभयो ।
त्यस्तै, धेरै व्यवस्थित ढंगले पशुपतिनाथको दर्शन गर्ने व्यवस्था गरेको स्याङजा गल्याङकी माया तिवारीले बताउनुभयो । उहाँले सहज रुपमा दर्शन गरिएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो ।
त्यस्तै, काठमाडौं मनमैँजुकी शान्ता थपलियाले विगतका वर्षहरुमा भन्दा यो वर्ष दर्शन गर्न अत्यन्तै राम्रो व्यवस्था भएको बताउनु भएको छ । उहाँले स्वयम्सेवकहरुको सक्रियताले पनि दर्शनार्थीलाई पशुपतिनाथको दर्शन गर्न सहज भएको बताउनुभएको होे ।
दर्शनार्थींहरुका अनुसार यो वर्ष पशुपतिनाथको सजावट पनि विगतको भन्दा राम्रो गरिएको छ । यसैबीच, पशुपति क्षेत्र विकास कोषले यो वर्ष करिव १३ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्