
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रक्रिया तत्काल अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार एक ज्ञापनपत्र बुझाउँदै इपानले विगत तीन वर्षदेखि पीपीए नगर्दा ऊर्जा उद्यमीले आयोजनाको पहिचान र विकासका लागि गरेको अर्बौं लगानी जोखिममा परेको गुनासो गरेका छन् ।
उनीहरुले तत्काल पीपीए खुला गर्न माग गरेका छन् । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले पीपीए नहुँदा ऊर्जा उद्यमीले भोग्नुपरेका समस्याको बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि आग्रह गर्नुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफू उद्यमीको मागप्रति सकारात्मक र संवेदनशील रहेको बताउनुभएको थियो ।
प्राधिकरणमा ९ हजार मेगावाटभन्दा बढी क्षमताका २ सय १५ वटा आयोजनाहरुले सबै प्रक्रिया र मापदण्ड पूरा गरेर पीपीएका लागि आवेदन दिएका छन् । ती आयोजनाको पीपीए नहुँदा व्यवसायीले तीन वर्षदेखि सर्वेक्षण अनुमतिपत्रको वार्षिक नवीकरण दस्तुर तिर्नु परिरहेको छ भने उत्पादन अनुमतिपत्र लिएकाले वार्षिक आय गुमाइरहेका छन् । यसबाट व्यवसायीलाई ठूलो आर्थिक भार पर्न गएको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्