
काठमाडौं, फागुन १९ । चीनको वुहानबाट उद्दार गरी भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपाली कोरोनामुक्त रहेको पुष्टि भएको छ ।
कोरोना परीक्षणको अन्तिम नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
१ सय ७५ जनामै कोरोनाको संक्रमण नपाइएपछि सबैलाई सोमबारनै घर पठाइने देवकोटाले बताए । खरिपाटी क्वारेन्टाइनमा रहेका उनीहरूको गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको ¥यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
गत फागुन ४ गते वुहानमा रहेका उनीहरुलाई उद्दार गरेर नेपाल ल्याइएको थियो । क्वारेन्टाइनको पहिलो दिन नै कोरोना परीक्षण गरिएको थियो ।
पहिलो परीक्षणको नतिजामा समेत कसैलाई पनि संक्रमण देखिएको थिएन । आइतबार मात्र वुहानमा नेपालीलाई उद्दार गर्न गएको जहाजको पाइलटसहित १८ सदस्यलाई नगरकोट क्वारेन्टाइनस्थलबाट घर पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्