
नवीन शर्मा, देवेन्द्रमान डंगोल र भरत केसी (इमेज)
काठमाडौं, फागुन १९ । काठमाडौं उपत्यकाका विभिन्न १० ओटा नगरपालिकाभित्र रहेका ढुंगेधाराहरुको विस्तृत नक्सांकन सार्वजनिक गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको सर्वेक्षणअनुसार उपत्यकाभित्र रहेका ५७३ ढुंगेधारामध्ये ४७९ ओटा फेला परेका छन् भने ९४ ओटा मासिएका छन् ।
उत्कृष्ट कला–कौशलयुक्त सहर काठमाडौं, ललितपुर तथा भक्तपुरका टोल–टोलमा रहेका अधिकांश पुराना ढुंगेधारामा अहिले अधिकांश समय सुक्खा हुन्छन् ।
प्राचीन कला र जीवनशैलीको प्रतिनिधित्व गर्ने ढुंगेधारा नै सुक्न थालेपछि उपत्यकाको जमिनको सतहभित्र रहेको पानीको स्रोत कुन अवस्थामा छ भन्नेसमेत अध्ययनको विषय बन्न पुगेको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डकाअनुसार बढ्दो सहरीकरणको चपेटामा परेका ढुंगेधारा तथा परम्परागत पानीका स्रोतहरु सुक्दा सहरी क्षेत्रमा पानीको अभाव झनै विकराल बनिरहेको छ ।
पानी सुक्दै गएपछि उपत्यकावासीको भरपर्दो विकल्प बनिरहेका ढुंगेधारा मासिएका छन् । भित्रि सहरको मौलिक सम्पदा र पहिचान नै नामेट हुने अवस्था निम्तेको छ ।
अहिले उपत्यकाका अधिकांश धारामा आउने पानीको मूल स्रोत सुकेको छ । परम्परागतरुपमा विकास गरिएको पानीको मुहान र पानी सञ्चित हुने स्रोतमै असर पर्ने ढंगले भौतक संरचना निर्माण हुँदा उपत्यकाका ढुंगेधाराको अस्तित्व जोखिममा परेको अध्ययनले देखाएको छ ।
उपत्यकामा भेटिएका धेरै ढुंगेधारा सयौं वर्ष पुरानो सभ्यतासँग प्रत्यक्ष जोडिएका सम्पदा पनि हुन् । जसको धार्मिक–साँस्कृतिक तथा पुरातात्विक महत्व बेग्लै छ ।
यस्ता सम्पदा र संरचना मासिनेक्रम नरोकिएपछि अहिले सरकारले उपत्यकाका सबै नगरपालिकासँग समन्वय गरेर संरक्षण अभियान सुरु गर्न लागेको छ ।
सम्पदाविद्हरु ढुंगेधाराहरुलाई पुरानै अवस्थामा फर्काउन अब हम्मे–हम्मे पर्ने बताउँछन् । यो सरकार तथा सरोकारवाला सबैले सहरीकरण र संरचना निर्माणका क्रममा दूरदर्शी योजना नबनाउँदाको नतिजा हो ।
काठमाडौं उपत्यकाका १० ओटा नगरपालिकाभित्र रहेका ५७३ ढुंगेधारामध्ये ९४ ओटाको नामोनिशान भेटिएको छैन ।
त्यसैगरी, २३३ पोखरीमध्ये ४० ओटा पोखरी हराएका छन् । अहिले उपलब्ध धारो तथा पोखरीको संरक्षणभन्दा पनि हराएका ढुंगेधारा र पोखरीको खोजी सबैभन्दा ठूलो चुनौती बनेको छ ।
प्रतिक्रिया दिनुहोस्