-केशव कोइराला /ईमेज
बर्दिया । कारण जमिन कटान र डुबानको समस्या भोग्दै आएका बर्दियाको कर्णाली जलाधार क्षेत्रका स्थानीय वैकल्पिक खेतीतर्फ जुटेका छन् ।
खाद्यान्नबाली लगाउँदा वर्षभरि खानसम्म नपुग्ने समस्या भएको र अहिले व्यावसायिक तरकारी खेतीबाट भने अतिरिक्त आय समेत हुन थालेको हो ।
कर्णाली जलाधार क्षेत्रका पूर्वी र पश्चिमी किनारा तथा आसपासका खोलाले कटान र डुवान गर्दा स्थानीय किसानहरु निकै समस्यामा पर्ने गरेका थिए ।
बालीनाली कहिले बगाउने त कहिले पुर्ने गरेकाले वर्षभरिको मिहिनेतबाट पेट पाल्नसमेत अपुग हुने गरेको थियो । तर अहिले भने सोही जमिनमा किसानहरुले व्यावसायिक तरकारी खेती सुरु गरेका छन् ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँकेको सहयोगमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको कर्णाली जलाधार क्षेत्रका किसानलाई व्यवसायिक तरकारी खेतीमा प्रोत्साहित गरिएको हो ।
बाढीजन्य प्रकोपका कारण जोखिममा पर्दै आएका बर्दिया राजापुर नगरपालिका–३ रजपुरुवाका किसान राजेन्द्र चौलागाँइले बितेका ५ वर्षयता तरकारी खेती गरिरहेका छन् ।
खाद्यान्न लगाउँदा ६ महिना पनि खान नपुग्ने अवस्था थियो । तर अहिले भने १० कठ्ठा जग्गामा लगाएको तरकारी खेतीबाट परिवारको जीवनस्तर नै उकासिएको उनको भनाइ छ ।
बर्दिया गेरुवा गाउँपालिका–३ लोहारपुरका गंगाराम थारु र रामऔतार थारु पनि कर्णाली जलाधार क्षेत्रकै बासिन्दा हुन् । उनीहरु पनि वैकल्पिक खेतीबाटै जीविकोपाजर्न गरेको बताउँछन् ।
गंगारामले साढे दुई कठ्ठा जग्गामा टनेल बनाई काँक्रा, लौका र टमाटर लगाएका छन् । यता बनगाँउकि मंगली थारुले १५ कठ्ठा जग्गामा तरकारी रोपेकी छन् ।
धानगहुँ खेतीबाट भन्दा तरकारीबाट दोब्बर बढी नाफा हुने मंगली थारु बताउँछिन् ।
वर्षभरी खान नपुग्ने अवस्थाका उनीहरुले तरकारी खेती गर्न थालेपछि अतिरिक्त आय पनि भइरहेको कृषि प्राविधिक जेटीए विपना चौधरीको भनाइ छ ।
वर्षेनी आउने बाढीलाई मध्यनजर गरी तरकारी खेती गर्दा बाढीपीडित किसानलाई राहत मिलेको छ ।





प्रतिक्रिया दिनुहोस्