
चन्द्र कटुवाल
ध्यान
शरीर, मन र चित्तमाथी नियन्त्रण गर्नको लागि सबैभन्दा प्रभावकारी माध्यम योगलाई मानिन्छ । पतञ्जलीले सुत्रबद्ध गरि अनुशासनमा ढालेको योगलाई अष्टाङ्ग योग भनिन्छ । यसमा आठ वटा अङ्गहरु छन । जस्मा यम, नियम, आशन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी । ध्यान सातौ चरणमा पर्दछ । हुन त आजभोलि योग तथा ध्यान भन्ने चलन पनि आईसक्यो । ध्यानलाई छुट्टै हो भन्ने पनि पार्न थालिएको छ । सबै चरणहरुको आ–आफ्नै महत्व छ । ध्यान गर्नेहरु सबै कुरा ध्यानबाटै हुन्छ भन्छन् । शरीर चलाउन आबश्यक छैन पनि भन्छन् भने अर्कोतिर शरीर चलाउनेहरु सबै कुरा शरीर चलाउनु मात्रै हो, ध्यान केहि हैन भन्छन् । तर यी दुबै एकअर्काका चरणहरु हुन । शरीर र मन दुबैको अन्तर सम्बन्ध छ । यहि शरीरको माध्यमबाट नै हो सम्पूर्ण कार्यहरु गर्ने । ध्यानको लागि पनि शरीर स्वस्थ हुनु पर्यो । हामी कुनैपनि विषयवस्तुको गहिराईमा नपुगि आफ्नै ज्ञानको आधारमा प्रचार गर्छौं । यसको दिर्घकालीन असरलाई वेवास्ता गर्छौ । हामीले शास्त्रीय मान्यतामा आधारित भएर अगाडि बढ्नु नै राम्रो मानिन्छ ।
ध्यान के हो ?
ध्यान होस हो । ध्यान चेतन मनको हेराई हो । एकत्रित हुनु ध्यान हो । सजगताका साथ हेर्नु ध्यान हो । आफूभित्रको शून्यतालाई बुझ्ने प्रयास गर्नु पनि ध्यान हो । शून्य भनेको के हो यो पनि बुझ्न जरुरी छ । अझ कसैले केहि पनि नगर्नु ध्यान हो पनि भन्छन । यो शब्द संग हामी धेरै परिचित छौ । दिनहुँ जसो प्रयोग गरिरहेका छौ । घरमा पनि सुनेकै हो ध्यान दिएर सुन भनेको । स्कूलमा पनि सुनेकै हो ध्यान दिएर पढ । तर हामीमा साधारण कुरालाई कठिन बनाएर बुझ्ने बानी छ । त्यसैले ध्यानलाई जटिल बनाईएको छ ।
ध्यानको फाईदा के छ ?
ध्यानले खुशी हुने हर्मोन( हेप्पी हर्मोन) लाई बढाईदिन्छ जसले गर्दा मानिस खुशी र आनन्दित हुन्छ । ध्यानले हाम्रो मन शान्त पार्दछ । एकत्रित पार्दछ । जब हाम्रो दिमाग शान्त र निर्मल हुन्छ तव यसको कार्यक्षमता बढ्छ । जव मन मस्तिष्कमा हलचल हुन्छ तव सम्पूर्ण शरीरनै उथलपुथल हुन्छ । त्यसैले हर समय मनलाई शान्त राख्नु पर्दछ । त्यसको लागि ध्यान जरुरी छ । ध्यानले स्मृति शक्ति बढाउने कुरा बिभिन्न अध्ययनहरुले देखाएका छन । साथै ध्यानले नकरात्मक सोचाई, चिन्ता, तनाव घटाउछ । यसले धैर्यता, कल्पनाशिलता, सृजनशिलता बढाई मानिसलाई दृष्टिकोण परिवर्तनमा मद्दत गर्दछ । ध्यानका अनगिन्ति फाईदाहरु रहेका छन ।
ध्यानका प्रकारहरु
बिज्ञान भैरवतन्त्रमा १ सय १२ किसिका ध्यान हरु बताईएको छ । ध्यानका बिभिन्न प्रकार हरु रहेका छन् । जस्तै माईन्डफुलनेस मेडिटेसन, ट्रान्सेन्डेन्टल मेडिटेसन, बिपास्यना ध्यान, गाईडेड मेडिटेसन, चक्रिय ध्यान आदि । मुख्य गरि ध्यानहरु कुनै बस्तु हेरेर गरिने ध्यान ,कुनै संगित सुनेर गरिने ध्यान, श्वास प्रश्वासमा गरिने ध्यान । कुनै आशनमा बसेर गरिने ध्यान जस्ता बिभिन्न किसिमका ध्यान हरु रहेका छन ।
ध्यानको सबैभन्दा सजिलो बिधि
साधारणतया मनमा चलेका बिभिन्न चिन्तनहरुलाई बिस्तारै कम गराउदै लैजाने बिधि नै ध्यान हो । चाहे त्यो श्वास प्रस्वासमा ध्यान दिएर होस् या कुनै मन्त्र जपेर होस्, या माला जपेर होस् सबैको उदेश्य भनेको मनलाई शान्त र निर्मल पार्नु हो ।
सबैभन्दा साधारण तरिका भनेको कुनै पनि सजिलो आशनमा बस्नु । म ध्यान बस्दै छु नभन्नुहोला । नत्र तपाईको ध्यान बिथोल्नको लागि बिचारहरु तछाड –मछाड गर्दछन । जसले ध्यानमा बाधा पार्दछन् । बिस्तारै कुनै पनि कुरामा चिन्तन गर्नुहोस । त्यो जे कुरा भएपनि हुन्छ । उदाहरणको लागि कुनै योजनाको बारेमा सोच्नुहोस् । त्यहि योजनामा अडिग हुनुहोस् । त्यसको बारेमा अझ राम्रो कुराहरु सोच्नुहोस् । तर बिचार गर्नुहोस कि तुरुन्तै अर्को बिचार आउन नदिनुहोस । म ध्यान गर्दैछु भनेर बिल्कुलै नसोच्नुहोस् । तपाईँ त्यहि एउटै कुरामा सजक हुनुहोस्, पुरै ध्यान त्यतै छ, बाहिरको हल्लामा ध्यान नदिनुहोस । धेरै जसोको समस्या भनेको ध्यान बस्दा बाह्य हल्लाले ध्यान खल्बलाउछ भन्छन् । तर यहाँ मुख्य कुरा के छ भने बाहिरको कुरा लाई वास्तै नगर्नुहोस । किन भने यदि बाहिरको कुरा ध्यान दिनुभएमा ध्यान त्यतै जान्छ ।
अर्को मुख्य कुरा सुरुमै ध्यान सुरु नगर्नुहोस । कि शरीर थकाउने योग गर्नुहोस । कि नुहाउनुहोस । कि पूजापाठ गर्नु होस । कि कतै बाट हिडेर आउनुहोस । यदि बिहानै सबेरै छ भने यी सबै कुरा बिना पनि ध्यान गर्न सकिन्छ । कि त सधै अभ्यास गरेको ले गर्न सक्छ । तर सुरु सुरुका दिनहरुमा अलि कति चञ्चलमनलाई सिथिल बनाउने कार्य गर्नु पर्दछ । र सुरुमै आखा बन्द पनि नगर्नुहोस । यदि सुरुमै आँखा बन्द गर्नुभयो भने झन धेरै बिचारहरु आउन सक्छन र ध्यानको लाभ लिन सकिदैन ।
यसरी कुनै पनि एउटा बिचारमा चिन्तन गर्दै त्यसैमा हराउनुहोस । सुरुमा निद्रा पनि लाग्न सक्छ । निद्रा नराम्रो हैन । हरेक कुराको अभ्यास हुन्छ । हामीलाई सबै कुरा हतारमा चाहिन्छ । जिवनशैली छ अस्तव्यस्त र भद्रगोल, तर रिजल्ट छिटै चाहिन्छ । त्यसैले अभ्यास नै यसको जरो हो ।
यसरी एउटै बिचारमा सोच्दै जाँदा कति खेर त्यो बिचार पनि हराउछ । तब मन र मस्तिष्क शान्त हुन्छ । अब अगाडि बढ्छ अभ्यास । शरीर नै आनान्दित हुन थाल्छ । यसैबाट परमानन्द प्राप्त गर्न सकिन्छ । एकै पटक नहुन सक्छ । व्यक्तिका खानपान बिचार व्यवहार उसको गुण अनुसार फरक – फरक बिधि आबश्यक पर्न सक्छ । त्यसैले त योगहरु पनि बिभिन्न रहेका छन । सबैभन्दा पहिले शरीर शुद्ध पार्नु पर्यो त्यसपछि मन र बिचार शुद्धि हुन्छ । जसरी कृष्टलमा अरुको छाया देखिन्छ त्यसै गरि मन शुद्ध बुद्ध पार्दै गयो भने धेरै रहस्यहरु देखिन्छन भन्ने मान्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्