काठमाडौं । सर्वोच्च अदालतले जिल्ला न्यायाधीश विनोदकुमार गौतमलाई अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा बदर गरेको छ ।
विशेष अदालतमा दायर भएको गौतमविरुद्धको मुद्दा बिहीबार सर्वोच्चले बदर गरेको हो । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने कार्यमा संलग्न भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायाधीश गौतमविरुद्ध अख्तियारले २०७६ माघ २२ गते गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
न्यायाधीशलाई अख्तियारले मुद्दा चलाउने क्षेत्राधिकार नभएको भन्दै सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले उक्त मुद्दा बदर गरेको हो । गौतम भूमिसुधार मन्त्रालयमा उपसचिव हुँदा बालुवाटार जग्गा व्यक्तिको नाममा पुर्याउने कार्यमा संलग्न भएको अख्तियारको आरोप थियो ।
न्यायाधीश गौतम चितवन जिल्ला अदालतमा कार्यरत हुँदा बालुवाटार जग्गा प्रकरणबारे अनुसन्धान र अभियोजन भएको थियो । मुद्दा चलेपछि न्यायाधीश गौतम निलम्बनमा पर्नुभएको थियो । सर्वोच्चले आदेश दिएसँगै उहाँले पदमा बहाल हुनु भएको छ ।
गौतम न्यायाधीश हुनुपूर्व अनुसन्धान नगरेको, उहाँलाई निलम्बन गर्ने संवैधानिक गर्ने अधिकार अख्तियारलाई नभएको, न्यायाधीशलाई कारबाही गर्ने अधिकार भएको न्यायपरिषदलाई पूर्वजानकारी र सहमतिसमेत नलिएको लगायतका आधारमा मुद्दा बदर गरिएको आदेशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्