Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


विश्व बैंकद्वारा नेपाललाई १० अर्ब ऋण सहयोग


0
Shares

काठमाडौं, साउन २३ । संघीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ ।

नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा केन्द्रित रहेर मंगलबारदेखि बैंकको प्रधान कार्यालय वासिङ्टन डिसीमा जारी बैंकको बोर्ड बैठकले वित्तीय क्षेत्रमा मध्यमकालीन सुधार कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई प्रदान गर्न स्वीकृति दिएको हो ।

बैठकमा नेपालका आवश्यकता तथा पाँचवर्षे साझेदारी ढाँचा प्रस्तुत् गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली जनतालाई सुशासन, न्याय, सुरक्षा, आधाभूत सेवा प्रवाह गर्न तथा संघीयतातर्फको नेपालको यात्रालाई सघाउन साझेदारी रणनीति उपयोगी हुने बताएको विश्व बैंकले जनाएको छ ।

उक्त बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले निकट भविष्यमा प्राप्त हुने उक्त ऋण सहायताबाट नेपालको गरिबी घटाउन, रोजगारीका अवसर सिर्जना गर्न तथा समावेशी विकासमा भरथेग गर्न मद्दत पुग्ने बताए । रासस