Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेपालको विकासमा ठूलो लगानीको आवश्यकता : अर्थमन्त्री


0
Shares

मधुकर अधिकारी (रासस)

वासिङ्टन डिसी, साउन २३ । अर्थमन्त्री डा. युवराज खतिवडाले सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको बताएका छन् ।

विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराए ।

उनले नेपालले आर्थिक विकासका लागि लिएको रणनीतिकाबारेमा जानकारी गराउँदै ‘दीगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध छ’–भने ।

विश्व बैंकसँग आगामी पाँचवर्षे लगानीको ढाँचा पारित गर्न अनुरोध गर्दै अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकसँगको सहकार्यले नेपालको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

यसैबीच, खतिवडाले विश्व बैंकका दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्ष हाटविग सेफरसँग पनि भेटवार्ता गरेका छन् ।

भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अंगीकार गरेको संघीयता कार्यान्वयनका सन्दर्भमा राखेको जिज्ञासामा डा. खतिवडाले नेपालमा तीनै तहका निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भइ निर्वाचित भएका करिब ३६ हजार जनप्रतिनिधिमार्फत् जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पस्ट गरेका थिए ।

नेपालका आर्थिक र सामाजिक क्षेत्र खासगरी पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै उनले यसमा सरकार निजी क्षेत्रसँग मिलेर कार्य गर्न तत्पर रहेको बताए ।

मन्त्री डा. खतिवडाले संघीयताको व्यवस्थापन र विकासका लागि आन्तरिक साधन र स्रोतमात्र पर्याप्त नहुने भएकाले विश्व बैंकसँग नेपालले सार्थक सहयोगको अपेक्षा राखेको बताए ।

विश्व बैंकका क्षेत्रीय उपाध्यक्षले नेपालले छोटो समयमा राजनीतिकरूपमा हासिल गरेको परिवर्तन उत्साहजनक रहेको बताउँदै विश्व बैंक समूह एकीकृतरुपमा नेपालको प्राथमिकताको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्न र निजी क्षेत्रमा लगानी बढाउन तयार रहेको जानकारी दिए ।

उनले विश्व बैंकको अन्तर्राष्ट्रिय नियोगका अतिरिक्त क्षेत्रीय कोषबाट नेपालको ऊर्जा, यातायातलगायतका पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अर्थमन्त्रीसँग विश्व बैंकका ऊर्जा र वित्तीय कोषका निर्देशकलगायतका पदाधिकारीले पनि भेट गरेर हालको ऊर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यमा गर्नसकिने लगानीकाबारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा डा. खतिवडाले नेपालको तत्काल चालू आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमासमेत सहयोग गर्न अनुरोध गरे ।

अर्थमन्त्रीले ऊर्जा क्षेत्रमा कानुनी, संरचनागतलगायतका सुधार गरी लगानीमैत्री वातावरण सिर्जनाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

विश्व बैंकका सो टोलीले नेपालको ऊर्जा क्षेत्रको विकासमा बैंक समूहबाट गर्नसकिने सम्भावित सबै सहयोग उपलब्ध गराउन तत्पर रहेको र उपयुक्त अवसरको प्रतीक्षा गरेको बताउँदै क्षेत्रीय ऊर्जा विकासको सम्भावनाबारे चर्चा गरेका थिए ।

विश्व बैंकका कार्यबाहक प्रमुख अर्थशास्त्री सान्ता देवराजनलेसमेत अर्थमन्त्रीसँग भेटघाट तथा छलफल गरे ।

सो अवसरमा अर्थमन्त्रीले नेपालले केही दशकअगाडि गरेका आर्थिक तथा वित्तीय सुधारका प्रयासहरूबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नयाँ सुधारहरू थालनी गरेको जानकारी दिए ।

सो अवसरमा देवराजनले नेपालले वित्तीय क्षेत्रमा गरेका सुधारको प्रशंसा गर्दै विश्व बैंकले आफ्ना असल अभ्यासहरू नेपालसँग आदान–प्रदान गर्दै जाने बताए ।

तीन दिनसम्म चल्ने नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमन्डलको सहभागिता रहेको थियो ।

बुधबार सकिने यस बैठकले नेपालको लगानीसम्बन्धी ढाँचा पारित गर्ने अपेक्षा गरिएको छ ।