काठमाडौं, फागुन १५ । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा विभिन्न परियोजनामा सात खर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
यस अवधिमा विभिन्न परियोजनाका लागि ६ खर्ब ९४ अर्ब ६८ करोड बराबरको लगानी प्रतिबद्धता आएको जनाइएको हो ।
उद्योग विभागमार्फत् २८ अर्ब ८१ करोड लागतका विभिन्न परियोजनाहरुमा लगानी स्वीकृत भएको छ भने लगानी बोर्डमार्फत् ६ खर्ब ६५ अर्ब बराबरको लगानी स्वीकृत भएको हो ।
नेपालमा भित्रिने ६ अर्बमाथिका परियोजना तथा २०० मेगावाटमाथिका जलविद्युत् आयोजना लगानी बोर्डबाट मात्रै स्वीकृति दिइने गरिएको छ भने ६ अर्ब कमका परियोजनाले उद्योग विभागमार्फत् स्वीकृति पाउने गरेका छन् ।
लगानी बोर्डको तथ्यांकअनुसार नेपालमा विभिन्न ठूला परियोजनामा निजी साझेदारीमा वैदेशिक लगानी भित्रिएका छन् ।
उद्योग विभागले यस अवधिमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी ८ अर्ब ३२ करोड तथा सेवा क्षेत्रमा ६ अर्ब ५९ करोडको लगानी स्वीकृत गरेको जनाइएको छ ।
विभागले अघिल्लो वर्षको यसै अवधिमा ११ अर्बको लगानी स्वीकृत गरेको थियो ।
विभागले अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी पाँच अर्ब ३२ करोड बराबरको अनि पर्यटन क्षेत्रमा तीन अर्ब ६७ करोडको लगानी स्वीकृत गरेको थियो ।
यस्तै, पछिल्ला दुई वर्षमा चीनबाट नेपालमा सबैभन्दा बढी लगानी भित्रिएको विभागले जनाएको छ ।
यसमध्ये चीनबाट मात्रै १७ अर्ब ५९ करोड लगानी भित्रिएको उद्योग विभागका प्रवक्ता विनोद कुमार खड्काले जानकारी दिए ।
राजनीतिक स्थायित्वले नीतिगत स्थीरता आएका कारण पनि लगानी वृद्धि भएको खड्काको दाबी छ ।
यस्तै, लगानी बोर्डमार्फत् विभिन्न १३ ओटा परियोजनामा ६ खर्ब ६५ अर्बको लगानी स्वीकृत हुँदा सबैभन्दा बढी अरुण तेस्रोको लागि ९१ करोड ४० लाख अमेरिकी डलर बराबरको लगानी स्वीकृत भएको हो ।
बोर्डले लगानी सम्मेलनमा ५० ओटा आयोजना ‘सोकेस’मा राखेकोमा १७ ओटा परियोजनामा लगानी भित्रिएको जनाएको छ ।
यीमध्ये सबैभन्दा बढी पर्यटन तथा जलविद्युत् क्षेत्रमा लगानी स्वीकृत भएको बोर्डका प्रवक्ता बलराम रिज्यालले जानकारी दिए ।
नीतिगत सहजता तथा राजनीतिक स्थायित्वका कारण वैदेशिक लगानीकर्ताहरुमा सकारात्मक सन्देश गएको देखिएको छ ।
तर, प्रतिबद्धताअनुसार लगानी भित्रने वातावरण बनाउन भने सरकारलगायत सरोकारवाला गम्भीर हुनुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्