
राजविराज, असार १ । सप्तरीको राजविराज नगरपालिका–१५ मा एकजना गर्भवतीको हत्या भएको छ ।
राजविराज नगरपालिका–१५, मुसहर्नियाकी १७ वर्षीया बेचनीकुमारी साहको हत्या भएको र हत्या गरी ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शुक्रबार शव फेलापरेको प्रहरी नायब उपरीक्षक भोवेश रिमालले बताए ।
गर्भवती रहेकी बेचनी कुमारीको करिब ४/५ दिनअघि नै हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या गरी फालिएको अवस्थामा शव कुहिएर दुर्गन्ध फैलिएपछि घटनाबारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गाउँमै दुर्गन्ध फैलिएपछि खोजी गर्नेक्रममा ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शव भेटिएको हो ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखेको छ ।
मृतकका पति ३५ वर्षीय सुजकुमार साह डेढ वर्षीया छोरी प्रतिमालाई लिएर बेपत्ता भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइसकेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
पतिले नै हत्या गरेको मृतक बेचनीको माइती पक्षले आरोप लगाएका छन् ।
यसअघि, दुई दिनअगाडि पनि राजविराज नगरपालिका–९ स्थित मलेठमा ससुराली आएका एक युवकको ससुरा, जेठान र श्रीमतीले कुटपिट गरी हत्या गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्