
हेटौंडा । मकवानपुरको हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त देखिएको छ । दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट निर्माण सुरु गरेको हो ।
किसानले उत्पादन गरेको दूध विभिन्न कारणवस सडकमा फाल्नुपर्ने अवस्था झेल्दै आएकोमा प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले दुग्ध पाउडर प्लान्ट निर्माण कार्य अघि बढाएको हो ।
एक वर्षभित्र प्लान्ट निर्माण गरी सक्नु पर्ने भए पनि प्लान्ट निर्माण तोकीएको समयमा हुन सकेन् । गत पुसमै निर्माण भइसक्नुपर्ने भए पनि कोरोना महामारी र अन्य कारणले केही समय अलमलमा परेको उक्त प्लान्टको निर्माण काम सुचारु गरिएको छ ।
पाउडर प्लान्ट निर्माणको म्याद सकिँदासम्म ५० प्रतिशतमात्र प्रगति भएको बताईएको छ ।
पाउडर प्लान्ट निर्माणका लागि २०७७ पुस १ गते इजी इन्फा प्रालि काठमाडौंले निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीले गत पुसमै प्लान्ट निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ढिलाइ हुँदा निर्माण कार्य केही समय पर धकेलिएको हो ।
संघीय सरकारको निर्णय अनुसार निर्माण भइरहेको प्लान्ट ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० न्युरेनीस्थित २ बिगाहा क्षेत्रफलमा दुग्ध पाउडर प्लान्ट स्थापनाको काम सुरु गरेको हो ।
किसानले उत्पादन गर्ने दुधको खपत हुन नसक्दा समस्या हुने गरेकोमा प्लान्ट सञ्चालनपछि भने समस्या अन्त्य हुने छ ।
प्रतिक्रिया दिनुहोस्