Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


चीनमा ‘कोरोना’पीडित थप ५२ जनाको मृत्यु, दक्षिण कोरियामा ११ जनाको मृत्यु


0
Shares

बेइजिङ, फागुन १४ । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ ‘कोरोना’ जीवाणु (भाइरस)का कारण मृत्यु भएको छ ।

तीन हप्तादेखि दिनहुँ १०० भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ ।

हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या दुई हजार ७१५ जना पुगेको छ ।

पछिल्लो समय मृत्यु भएका सबै कोरोनाको प्रकोपको केन्द्र हुबेई प्रान्तका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार ४०१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको पनि जनाएको छ ।

चीनमा हालका दिनहरूमा नयाँ संक्रमित व्यक्तिको संख्या घटेको देखिएको छ र चीनका अरु धेरै प्रान्तमा नयाँ रोगी बिल्कुलै देखिएका छैनन् ।

हुबेई प्रान्तबाहिर पाँचजनामा मात्र कोरोना देखिएको थियो र यो एक महिनाको अवधिमा सबैभन्दा कम हो ।

तर, हुबेईको राजधानी वुहानमा गत वर्षको अन्त्यतिर सुरु भएर चीनमा मात्र ७८ हजारभन्दा बढीलाई संक्रमित तुल्याएको यो भाइरस विश्वका दर्जनौं देशहरूमा फैलिइसकेको छ ।

दक्षिण कोरियामा ११ जनाको मृत्यु

दक्षिण कोरियामा मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११ जना पुगेको छ र संक्रमितको संख्यामा वृद्धि भएर एक हजार १४६ पुगेको छ । चीनबाहिर यति ठूलो संख्यामा संक्रमण भएको कोरिया नै हो ।

कोरियामा तैनाथ अमेरिकी सेनामा सेवारत् एक सैनिकमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

इटालीमा करिब १० जनाको मृत्यु

करिब १० जनाको मृत्यु र ३०० भन्दा बढीमा संक्रमण देखिएको इटालीले ११ ओटा सहरमा आवात–जावत बन्द गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले योक्रम केही हप्तासम्म जारी रहनसक्ने बताएका छन् ।

नानजिङ सहरका अधिकारीहरूले सियोलबाट मंगलबार आइपुगेको विमानमा सवार तीनजनालाई ज्वरो आएपछि ९४ जनालाई ‘क्वारेन्टाइन’मा राखेको बताएका छन् । रासस/एएफपी