
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को खेल आजदेखि ओमानमा सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ओमानले नेपालको सामना गर्दैछ ।
यो खेल नेपाली समय अनुसार आज शुक्रबार पौने १२ बजे ओमनको अल अमेरात क्रिकेट मैदानमा हुनेछ ।
नेपाल घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ ।
ग्लोबल छनौटमा सहभागि कुल १६ टोलीमध्ये ८ टोलीहरुको प्रतियोगिता आजबाट ओमानमा हुन लागेको हो । यी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । दुवै समुहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका विजेताहरु अष्ट्रेलियामा हुने विश्वकप टी–ट्वान्टी क्रिकेटका लागि छनौट हुनेछन् ।
नेपालको समुहमा ओमान, क्यानाडा र फिलिपिन्स रहेका छन् भने अर्को समुहमा युएई, आयरल्याण्ड, जर्मनी र बहराइन रहेका छन् । ग्लोबल छनोटका बाँकी ८ टोलीहरुले जुलाईमा जिम्बाबेमा अर्को छनौट प्रतियोगिता खेल्नेछन् । त्यस प्रतियोगिताबाट पनि शिर्ष दुई टोली विश्वकपमा लागि छनौट हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्