Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


भारतले बनाइदिएको धर्मशाला तोडफोड गरेर तीनतारे होटल सञ्चालनको तयारी (भिडियो)


0
Shares

नवीन शर्मा र भरत केसी (इमेज)

काठमाडौं, फागुन १३ । चौतर्फी विरोध हुँदा–हुँदै पनि पशुपति क्षेत्रमा रहेको नेपाल–भारतमैत्री धर्मशाला तोडफोड गरेर व्यापारिक समूहले होटल बनाउने काम धमाधम भइरहेको छ ।

भारत सरकारले भक्तजनहरुको सुविधाका लागि बनाइदिएको धर्मशाला तोडफोड गरेर तीनतारे होटल बनाउन पशुपति क्षेत्र विकास कोषले नै व्यक्तिलाई दिएको हो ।

धर्मशालामा धार्मिक प्रयोजनका लागि आउने तीर्थालुलाई सुलभ दरमा बस्ने र खाने प्रबन्ध हुनुपर्ने हो ।

तर, पशुपति क्षेत्र विकास कोषले धर्मशालालाई व्यापारिक प्रयोजनमा दिने गरी सम्झौता गरेको छ । यो धर्मशाला तीनतारे होटलमा रुपान्तरित हुँदैछ ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकाल निजी कम्पनीलाई धर्मशाला सञ्चालनको जिम्मेवारी दिनेगरी सम्झौता गरिएको बताउँछन् ।

अहिले धर्मशाला तोडमोड गरिँदैछ । ३८८ कोठाबाट घटाएर ८० ओटा बिलासी कोठा बनाइएको छ ।

अब यो धर्मशाला रहेन । विलासी होटलमा परिणत हुन लागेकाले यसमा ‘सुइट’ र ‘डिलक्स रुम’हरु बनिरहेका छन् । ती कोठाको शुल्क प्रतिदिनको दुई हजार ९०० रुपैयाँसम्म पर्नेछ । वरपरका अन्य होटलभन्दा यसको शुल्क तीन गुणा महँगो हुनेछ ।

यहाँ तीनतारे होटल बनाउन लागिएको होटेल सञ्चालक निरञ्जल श्रेष्ठले जानकारी दिए ।

विकास कोषको स्वामित्वमा रहेको तिलगंगामा ०५३ मै धर्मशाला बनाउन थालिएको थियो ।

चर्चित भारतीय धर्मगुरु शंकराचार्य नेपाल आउँदा धर्मशालाको शिलान्यास भएको थियो । निर्माण भने ०७२ को भूकम्पपछिमात्रै सुरु भयो ।

भारत सरकारले २४ करोड रुपैयाँ खर्चेर बनाएको धर्मशाला व्यापारिक प्रयोजनमा लगाएर पशुपति क्षेत्र विकास कोषले ‘बाँदरको हातमा नरिवल’को आख्यान सम्झाइदिएको छ ।

भिडियो हेर्नुहोस्