
काठमाडौं । विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते र ७ जना घाइते भएका छन् ।
उदयपुरको उदयरपुरगढी गाउँपालिका–७ मा मंगलबार बेलुकी टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
नेपालटारबाट कोल्टेतर्फ जाँदै गरेको स १ क १९० नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा टिपरमा सवार स्थानीय १९ वर्षीय उज्वल खपाङगीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।
यस्तै, गम्भीर घाइते भएका टिपर चालक सप्तरीका २९ वर्षीय उमेश कुमार चौधरी सहित ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रुकुम पूर्वको भुमे गाँउपालिका–४ कराल बगरमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित ४ जना घाइते भएका छन् ।
रा १ त ३२४५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा भुमे गाँउपालिका–८ का १८ वर्षीय सुनिल रोकाको मृत्यु भएको हो ।
दुर्घटनामा भाइते भएका रोकालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मध्ये ३ जनाको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ भने र १ जनालाई उपचारका लागि दाङ तर्फ पठाइएको छ । ट्याक्टर अनियन्त्रित भएर सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
यसैगरी, सिराहाको सिराहा नगरपालिका–११ पदमपुरमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सिराहा–चोहर्वा सडकखण्डमा नम्बर नखुलेको सवारी साधनले प्रदेश २–०१–००१ प ६०३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सिराहकै कल्याणपुर नगर्पालीका–९ डुमरीका ३४ बर्षीय लालु यादवको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमै सवार अन्दाजी २५ बर्षीय रामशरण यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना लगतै सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्