
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खराव वातावरणीय कानुनका कारण क्यालिफोर्नियामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले डढेलो नियन्त्रणका लागि उचित ढंगले पानीको प्रयोग गर्न कानुनले रोकेकाले समस्या भएको बताएका हुन ।
उनले ट्वीट गर्दै आगो नियन्त्रणका लागि रुख काट्नुपर्ने भए पनि वातावरण कानुनले यसलाई पनि रोकेको प्रतिक्रिया दिए ।
उपलब्ध पानीलाई उचित ढंगले उपयोग गर्न सके आगो नियन्त्रणमा आउने उनको दाबी छ ।
क्यालिफोर्नियाको पानी मुर्खतापूर्ण तरिकाले प्रशान्त महासागरमा लगिएकाले आगो निभाउन पानीको अभाव भएको र डढेलोले धेरै क्षति पुर्याएको उनको भनाइ छ
क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पानीको वहावलाई उत्तरबाट स्वतन्त्र बग्न दिनुपर्नेमा ‘मूखर्तापूर्ण तरिकाले प्रशान्त महासागरतर्फ लगेको’ भन्दै ट्रम्पले असन्तुष्टि पोखेका हुन ।
क्यालिफोर्नियामा विनासकारी डढेलोले राज्यमा वितन्डा मच्चाएको छ । यसका कारण राज्यकै इतिहासमा दोस्रो ठूलो क्षति पुर्याएको बताइएको छ ।
विभिन्न १७ स्थानमा फैलिएको डढेलोे नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रक खटिएको भए पनि एक हप्ता पहिलेदेखि शुरु भएको आगो अझै फैलिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
डढेलो नियन्त्रणमा आउन अझै १ महिना लाग्नसक्ने बताइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्