Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


राणाकालीन ऐतिहासिक दुगुनागढी पुनर्निर्माण सुरु, पर्यटकका लागि पदमार्ग निर्माण र होमस्टे सञ्चालन गरिने (भिडियोसहित)


0
Shares

– विजय नेपाल /ईमेज 

सिन्धुपाल्चोक । वि.सं. १९११ सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको अगुवाइमा बनेको सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी पुनर्निर्माण हुन थालेको छ ।

२०७२ सालको भूकम्पले ध्वस्त बनेको दुगुनागढीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पुननिर्माण गर्न थालिएको हो ।

पुनर्निर्माणका लागि भने पर्याप्त बजेटको व्यवस्था हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले तिब्बती सेनासँग देशको रक्षा गर्नको लागि निर्माण गरेको दुगुनागढीबाट तिब्बतको खासा बजार प्रष्ट देखिन्छ ।

दैनिक सयौँ पर्यटक आउने दुगनागढी २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि पर्यटक आवागमन रोकिएको छ ।

तातोपानी सुख्खा बन्दरगाहबाट करिब ८ किलोमिटरको दुरीमा रहेको गढीमा आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना प्रशस्त रहेको स्थानीयबासी बताउँछन् ।

त्यसैलाई ध्यानमा राखी बागमती प्रदेश सरकारको तीस लाख रुपैयाँले पहिलो चरणको पुनर्निर्माण गरिएको दुगुनागढी पुनर्निर्माण तथा संरक्षण समितिकी अध्यक्ष पासाङफुटी शेर्पाको भनाइ छ ।

पुनर्निर्माण सुरु भएसँगै पछिल्लो समय पर्यटकको चहलपहल समेत बढ्न थालेको छ । गत वर्षको बजेटबाट भित्री भागको पुनर्निर्माण र बाटोमा रेलिङ हाल्ने काम मात्रै सकिएकाले बजेट थप गर्नुपर्ने देखिएको हो ।

बढीभन्दा बढी पर्यटक भित्र्याउनको लागि स्थानीयलाई होमस्टे सञ्चालनसम्बन्धी तालिम दिइएको छ भने पर्यटकीय पदमार्ग निर्माणको लागि गाँउपालिका कार्यालयबाट बजेट समेत विनियोजन गरिएको छ ।

भोटेकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद निरौला तातोपानी धारा र बन्दरगाहामा आएका पाहुनालाई गढीसम्म ल्याउन सके यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने धारणा राख्छन् ।

पुरातत्व विभागले समेत चासो देखाएको गढीमा आर्थिक अभावले अझै पूर्ण रुपमा पुनर्निमाण हुन सकेको छैन । 

गढीसम्म पुग्ने सडकको स्तरोन्नतिका साथै गढीको पुनर्निर्माणमा पनि अझै गति दिने हो भने यसलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना ज्यादै छ ।